सर्लाही, ०१ भदाै । नेपालमा कुल विद्युत क्षमता ३५ सय ९१ मेगावाट पुगेको छ ।
नेपाल विद्युत प्राधिकरणले आइतबार सार्वजनिक गरेको विवरण अनुसार राष्ट्रिय विद्युत प्रणालीमा कुल जडित क्षमता ३५ सय मेगावाट नाघेको हो । प्राधिकरणका अनुसार राष्ट्रिय प्रणालीमा विद्युत उपलब्धता १५ हजार ६४१ गिगावाट घण्टा पुगेको छ ।
राष्ट्रिय विद्युत प्रणालीमा नेपाल विद्युत प्राधिकरण र यसका सहायक कम्पनीको योगदान ३४ प्रतिशत रहेको छ । स्वतन्त्र विद्युत उत्पादकहरुको योगदान भने ५५ प्रतिशत रहेको देखिएको छ । ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको समेत प्राधिकरणले जनाएको छ ।
आव २०८१÷८२ मा नेपालको आन्तरिक विद्युत खपत १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३१९ गिगावाट घण्टा पुगेको छ ।
अघिल्लो वर्षको तुलनामा ग्राहक संख्या ४.६ प्रतिशतले बढेर ५७.१ लाख पुगेको समेत प्राधिकरणको तथ्यांकमा देखिन्छ ।
राष्ट्रिय ग्रिड पहुँच ९८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको तुलनामा विद्युत चुहावट ०.४७ प्रतिशतले घटेर १२.२६ प्रतिशत कायम भएको समेत प्राधिकरणको तथ्याङ्क छ ।