सर्लाही, ०२ भदाै । नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले मधेसवादी राजनीतिक दलहरूले आफ्नो दोहोरो चरित्रका कारण मधेसले अपेक्षित अधिकार हासिल गर्न नसकेको बताएका छन् । उनले भने, मधेसका मुद्दा खरो रूपमा उठाउने दलहरू कम रहेका कारण जनताको अपेक्षा पूरा हुन नसकेको हो ।

उनको भनाइमा, “मधेसमा ‘जय मधेस’ भन्ने र काठमाडौँमा ‘संघीय अभिवादन’ गर्ने राजनीतिक दलका नेताहरू भएकाले मधेस अधिकार सीमित भएको हो । काठमाडौँमा गएर प्रधानमन्त्रीको पूजा गर्ने र मधेसमा गएर जनतालाई सखाप पार्ने पार्टीका नेताहरूको दोहोरो चरित्र मधेसका जनताले बुझ्नुपर्छ,” झाले बताए । झाले थपे, “मधेस र मधेसवादीका लागि तपाईंको स्टुडियोदेखि सिंहदरबारसम्म, सिंहदरबारदेखि बानेश्वरको सांसद भवनसम्म, सांसद भवनदेखि विदेशी समुदायसम्म, र त्यहाँदेखि बालुवाटार प्रधानमन्त्रीसम्म एउटै कुरा बोल्नुपर्ने हो। तर कतिपय पार्टीहरू मधेसमा ‘जय मधेस’ भन्छन् भने काठमाडौँमा ‘संघीय अभिवादन’ गर्छन्। प्रधानमन्त्रीसँग गएर खुट्टा पुज्ने र मधेसमा गएर अन्य कुरा गर्ने दोहोरो वा ट्रिपल स्ट्यान्डर्ड पार्टीहरू तपाईं देख्न सक्नुहुन्छ।”

उनले आगामी निर्वाचनसम्म सद्भावना पार्टीलाई जनस्तरसम्म पुर्‍याउने लक्ष्य रहेको बताए। झाले भने, “टेस्टेड हुनु कुनै खराब कुरा होइन। तर फेरि पनि टेस्ट दिन म तयार छु। नेताले प्रत्येक पाँच वर्षमा टेस्ट दिनुपर्छ, विद्यार्थीले जस्तै। अर्को चुनावमा पनि यो टेस्ट देखिनेछ। हामी अण्डरग्राउण्ड पार्टी होइनौं, फाइनल्ली ब्यालेटको राजनीतिमा जाने हो। दुई वर्षमा चुनाव भए हामी तयार छौँ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *