एएफपी, ०२ भदाै । । उत्तर पश्चिम पाकिस्तानमा आएको विनाशकारी बाढीमा कम्तीमा तीन सय ४४ जनाको ज्यान गएको छ भने एक सय ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । प्रान्तीय विपद् व्यवस्थापन एजेन्सीका प्रमुख असफान्डियार खट्टकका अनुसार हजारौँ उद्धारकर्मी वर्षा र माटोको भारी चपेटाबीच बाँचेका मानिसहरूलाई खोज्दै, भग्नावशेषमुनि दबिएका घरहरू उत्खनन गरिरहेका छन् ।
“बुनेर जिल्लामा मात्रै करिब १५० जना अझै बेपत्ता छन् । उनीहरू भग्नावशेषमुनि फसेका वा बाढीले बगाएको हुन सक्छ”, खट्टकले भने । साङ्ला जिल्लामा पनि दर्जनौँ मानिस बेपत्ता छन् ।
सबैभन्दा बढी क्षति बुनेरमै भएको छ । त्यहाँ कम्तीमा दुई सय आठ जनाको मृत्यु भएको र करिब १०–१२ गाउँ आंशिक रूपमा पुरिएको प्रान्तीय उद्धार प्रवक्ताले बताए ।
“भग्नावशेषमुनि फसेकाहरूको उद्धार कार्य जारी छ”, उद्धार एजेन्सीका प्रवक्ता बिलाल अहमद फैजीले भने । उनका अनुसार करिब दुई हजार उद्धारकर्मी नौ जिल्लामा राहत कार्यमा खटिएका छन् । खैबर पख्तुनख्वा प्रान्तको पहाडी जिल्ला बुनेरमा शुक्रबार आरी घोप्टे मनसुनी वर्षा भएपछि आकस्मिक बाढी र पहिरो आएको थियो ।
आपत्कालीन सेवाका प्रवक्ता मोहम्मद सोहेलका अनुसार क्षतिग्रस्त सडकहरू मध्ये आधाभन्दा बढी खोलिएपछि दुर्गम गाउँसम्म सवारीसाधन र भारी मेसिनरी पुग्न थालेका छन् । प्रहरी र उद्धारकर्मीहरू ढुंगा–माटो पन्छाउँदै ध्वस्त घरका भग्नावशेषमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।