सर्लाही, ०२ भदाै । मधेशमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को राजस्व सङ्कलन पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ । यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो ।
सात वर्ष पहिले आव २०७५/७६ मा दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार राजस्व सङ्कलन भएको थियो । सात वर्षअघिको यो रकमभन्दा गत आव २०८१/८२ को सङ्कलन दोब्बर बढी भएको हो ।
मधेशको अर्थ मन्त्रालयले यसलाई उल्लेख्य प्रगति भनेको छ । कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधि बढ्नुले यो उल्लेख्य उपलब्धि हासिल भएको प्रदेशका अर्थ मन्त्रालयका सचिव रामकुमार महतो बताउँछन् । ‘राजस्व सङ्कलनमा यो उल्लेख्य प्रगति हो’, सचिव महतोले भने, ‘यसले अब राम्रो लिक समातेको छ ।’
यसअघि आर्थिक वर्ष २०८०/८१ मा प्रदेशमा तीन अर्ब पाँच करोड ९२ लाख ३१ हजार राजस्व सङ्कलन भएको थियो । चालु आर्थिक वर्ष आगामी वर्षमा राजस्व सङ्कलनमा अझ सुधार हुँदै जाने मन्त्रालयले जनाएको छ । सङ्कलन प्रक्रियालाई वैज्ञानिक रुपमा व्यवस्थित गरिएको हुँदा थप उपलब्धि हासिल हुने सचिव महतोले बताए ।