सर्लाही, ०२ भदाै । प्रधानमन्त्री बनेको १३ महिनापछि केपी शर्मा ओलीले भारत भ्रमणको औपचारिक निम्तो पाएका छन् ।
नेपालको राजनीतिमा प्रधानमन्त्री बनेपछि दुई शक्तिशाली छिमेकी मुलुक भारत र चीनको औपचारिक भ्रमण भयो कि भएन भन्ने तथ्यलाई लिएर उसको विदेश मामिला सम्बन्ध सञ्चालनको कुशलताको आयतन नाप्ने सनातनी परम्परा छ । त्यसैले ओली प्रधानमन्त्री भएदेखि नै उनको भारत भ्रमण कहिले हुन्छ भन्ने प्रतिक्षा थियो । भारतीय विदेश सचिव विक्रम मिश्रीले आइतबार नेपाल भ्रमणमा आएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणा हस्तान्तरण गरे ।
चीनको भ्रमण गरिसकेका ओलीले भारतबाट औपचारिक निम्तो नपाउँदा राजनीतिक र कूटनीतिक वृत्तमा भारतसँगको ओलीको सम्बन्धबारे चर्चा भइरहेको थियो । अब ओलीको भदौ ३१ देखि भ्रमण हुने छ । शुरुमा २ दिनको लागि भनिएको भ्रमण तीन दिनसम्म लम्बिने स्रोतले बताएको छ । यद्यपि भ्रमणको मिति भने दुईपक्षले पछि औपचारिक रुपमा सार्वजनिक गर्नेछन् ।
‘नेवरहुड फर्स्ट’ नीति अबलम्बन गरेपनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्षेत्रीय सम्बन्धहरू राम्ररी अघि बढेको थिएन । तर बंगलादेश र पाकिस्तानसँगको सम्बन्ध मात्र होइन अहिले अमेरिकाले समेत च्याप्न थालेपछि मोदीले आफ्नो लागि सहज हुने मुलुकहरूसँग सम्बन्ध थप मजबुत बनाउने कोशिस गरिरहेका छन् । यही पृष्ठभूमिमा मोदीबाट अहिले प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्तो आएको छ ।
मिश्रीको दौडधुप
भारतीय प्रधानमन्त्रीको पत्र बोकेर आएका विदेश सचिव विक्रम मिश्रीले आइतबार दिनभर राजनीतिक नेतृत्वसँग भेटघाट गरे ।
बिहान ९ बजे भारतीय वायुसेवाको विशेष विमान ‘आईएफसी ३१’ मार्फत काठमाडौं आइपुगेका मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सहसचिव मेहेन्द्र राजभण्डारी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरे ।
विमानस्थलबाट सिधै बत्तिसपुतलीस्थित द्वारिका होटल पुगेका उनले सवा ११ बजे सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटे ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको औपचारिक भ्रमणको निम्तो पत्र हस्तान्तरण गरे । त्यसअनुसार, ३१ भदौदेखि उनले भारत भ्रमण गर्नेछन् ।
पहिले दुई दिन भ्रमण हुने भएपनि एकदिन लम्बिनसक्ने देखिएको छ । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार, यसबारे औपचारिक रुपमा दुवै पक्षले एकसाथ सार्वजनिक घोषणा गर्ने भनिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार, भारत भ्रमणको दोस्रो दिन प्रधानमन्त्री ओलीले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यतालिका छ । सामान्यत: भारतीय प्रधानमन्त्रीले उच्चस्तरीय औपचारिक भेटवार्ता दिल्लीको हैदरावाद हाउसमा गर्ने परम्परा भए पनि यसपालि ओली–मोदी भेट बिहारको बोधगयामा हुने तय भएको छ ।
बोधगया गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको स्थान समेत हो । ओली–मोदी भेटवार्ता हुने दिन भारतीय प्रधानमन्त्री मोदीको जन्मदिन समेत परेको छ । मोदी १७ सेप्टेम्बर १९५० मा जन्मिएका थिए ।
प्रधानमन्त्री कार्यालयका अनुसार, भ्रमणको औपचारिक निमन्त्रणा पाएपछि ओलीले विदेशसचिव मिश्रीलाई धन्यवाद दिएका थिए ।
ओली ३० असार २०८१ मा प्रधानमन्त्री नियुक्त भएयता नै भारत भ्रमणका लागि प्रयास भइरहेको थियो । तर, भारतीय पक्षबाट निम्तो आएको थिएन ।
यद्यपि, दुईपटक विदेशमा ओली–मोदीबीच साइडलाइन भेटवार्ता भएको थियो ।
थाईल्याण्डको बैंककमा बिमस्टेक सम्मेलनमा सहभागी हुन गएका बेला २०८१ चैतमा ओलीको भारतीय समकक्षी मोदीसँग भेट भएको थियो । त्यसअघि संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क पुगेका समेत समेत दुई प्रधानमन्त्रीबीच भेट भएको थियो ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई समेत नेपाल भ्रमणको निम्तो दिएका थिए ।