सर्लाही, ०३ भदाै । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ स्थित दुई होटलमा अवैध देहव्यापार चलाइएको सूचनाका आधारमा प्रहरीको संयुक्त टोलीले छापा मार्दा ७ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषा र इलाका प्रहरी कार्यालय ढल्केबरको टोलीले सोमबार साँझ करिब ६ बजे मानव होटल र गोदावरी होटलमा एकैसाथ छापा मारेको हो ।

छापाका क्रममा मानव होटलबाट तीन महिला, तीन पुरुष र होटल सञ्चालक राजेन्द्र महतो पक्राउ परेका छन् ।त्यस्तै, गोदावरी होटलबाट एक महिला र एक पुरुष पक्राउ परेका हुन् ।

ती पुरुष सिरहाको कर्जन्हा नगरपालिका–३, बन्दीपुर खैराटोलका मनोज कुमार महतो रहेको प्रहरीले जनाएको छ । गोदावरी होटलका सञ्चालक विजय राउत भने फरार रहेका छन् । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय ढल्केबरमा राखिएको छ ।

फरार राउतको खोजी भइरहेको प्रहरीले जनाएको छ।प्रहरीका अनुसार पछिल्लो समय धनुषा, विशेषगरी ढल्केबर क्षेत्रका होटल तथा लजहरूमा अवैध देहव्यापार बढ्दै गएकाले निगरानी कडाइ गरिएको छ । नेपालको प्रचलित कानुनअनुसार देहव्यापारमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनु अपराध मानिन्छ ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४ बमोजिम जबरजस्ती वा प्रलोभन देखाएर यौन क्रियाकलापमा संग्लग्न गराउने, त्यसको सुविधा उपलब्ध गराउने वा संलग्न हुने कार्य दण्डनीय छ । यसमा दोषी ठहरिएका व्यक्तिलाई एक वर्षदेखि दस वर्षसम्म कैद सजाय र जरिवाना समेतको व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *