सर्लाही, ०३ भदाै । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानामगरलाई हटाउन आफ्ना सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् ।
मंगलबार दुई दलले आफ्ना संसदीय दलको कार्यालयमा सांसदहरुको हस्ताक्षर संकलन गरेका हुन् । हस्ताक्षरका लागि दुई दलले आफ्ना सवै सांसदहरुलाई सिंहदरबार बोलाएको थियो । कांग्रेस र एमालेले उपसभामुख रानालाई पदीय आचरणअनुसार काम नगरेको भन्दै अविश्वासको प्रस्ताव अघि बढाउन लागेका हुन् ।
हस्ताक्षर संकलनका क्रममा काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आवश्यकता अनुरूप विशेष प्रयोजनको लागि हस्ताक्षर संकलन गरिएको बताउनुभयो । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरबिरुद्धको अविश्वासको प्रस्तावमाथि कुनै छलफल नभएको उहाले दावी गर्नुभयो ।
त्यस्तै कांग्रेस सांसद रामहरि खतिवडाले सत्तामा रहका सवै दलसंग छलफल गरेर उपसभामुख इन्दिरा रानामगरबिरुद्ध अविश्वासको प्रस्ताव अघि बढाउने तयारी भएको जानकारी दिनुभयो ।
त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले कुनै पनि एमाले सांसदहरुको हस्ताक्षर संकलन नगरिएको दावी गर्नुभयो । उहाले उपसभामुखको बारेमा संसदमा उठेका प्रश्नका बारेमा छलफल हुनु स्वभाविक भएकाले उचित समयमा त्यसलाई पनि निराकरण गर्नुपर्ने बताउनुभयो । उपसभामुखको बारेमा संसदमा उठेका बिषय सरकारको नभइ संसदको बिषय भएकाले सदनबाटै टुङ्गो लगाइने उहाको भनाइ छ ।
उहाले उपसभामुखबिरुद्ध कुनै पनि प्रस्ताव दर्ता गर्ने निष्कर्षमा सत्तारुढ दल नपुगेको जिकिर गर्नुभयो ।