सर्लाही । अस्वस्थ खानपान र खराब जीवनशैलीका कारण धेरैजसो मानिसहरू ग्यास, एसिडिटी र अन्य पाचनसम्बन्धी समस्याहरूबाट पीडित हुन्छन् ।  यी समस्याहरू प्रायः तारेको, भुटेको र अत्यधिक मसालेदार खाना खानाले निम्तिन्छन् ।  तर, यी बाहेक पनि केही खराब बानीहरू र यसका कारणहरूलाई बेवास्ता गर्नाले ग्यास र एसिडिटीको समस्या बढाउन सक्छ ।

ग्यास र एसिडिटीका बेवास्ता गरिएका कारणहरू

धेरै मानिसहरूलाई ग्यास र एसिडिटीको समस्या बारम्बार हुन्छ । यी समस्याले पेटमा असहजता, ब्लोटिङ (ढुस्स हुने), छातीमा जलन र अपच जस्ता लक्षणहरू निम्त्याउछन् ।  यस्ता समस्याको कारण प्रायः गलत खानपान, खराब जीवनशैली र बानीहरू हुन्छन् ।

१.गलत खानपानको संयोजन

राम्रो पाचन र समग्र स्वास्थ्यका लागि सही खानपानको संयोजन अपनाउनु अत्यन्त महत्त्वपूर्ण हुन्छ । गलत खानपानले ग्यास, एसिडिटी, एसिड रिफ्लक्स (झुसिलाे डकार आउने), ब्लोटिङ र अन्य पाचनसम्बन्धी समस्याहरू निम्त्याउछ ।

जस्तै दूध र अमिलो फलहरूसँगै खाँदा पेटमा अम्लता बढ्न सक्छ । माछा र दूधजन्य पदार्थहरू सँगै खानाले पाचन प्रक्रियामा बाधा पुग्छ । साथै दही वा अन्य डेरी उत्पादनहरू फलफूलसँग मिसाएर खानाले ग्यास र अपचको समस्या हुन सक्छ ।

२.पर्याप्त निद्रा नलिनु

पर्याप्त निद्रा नलिनु, अनियमित निद्रा, कम निद्रा वा गलत निद्राको ढाँचाले पाचन प्रणालीमा नकारात्मक प्रभाव पार्छ । निद्राले शरीरलाई आराम दिन्छ, मांसपेशीहरूको मर्मत गर्छ र पाचन प्रक्रियालाई सुचारु राख्न मद्दत गर्छ ।  अनिद्राले पेटमा ग्यास, अम्लता र ब्लोटिङ जस्ता समस्याहरू बढाउन सक्छ । त्यसैले दैनिक ६ देखि ८ घण्टा सुत्नुपर्छ ।

३.तनाव र मानसिक चिन्ता

आधुनिक जीवनशैलीमा तनाव र चिन्ता सामान्य भएका छन् । कामको दबाब, व्यक्तिगत समस्या वा अन्य कारणले हुने तनावले पाचन प्रणालीमा प्रत्यक्ष असर गर्छ । मस्तिष्क र आन्द्राको गहिरो सम्बन्ध हुन्छ, जसलाई ‘गट–ब्रेन एक्सिस’ भनिन्छ । तनावले पाचन प्रक्रिया सुस्त बनाउँछ, जसले ग्यास, एसिडिटी र ब्लोटिङ जस्ता समस्याहरू निम्त्याउछ ।

४.पानीको कमी

शरीरमा पानीको कमीले पाचन प्रक्रियालाई सुस्त बनाउँछ, जसले ग्यास, अपच र एसिडिटीको समस्या निम्त्याउछ । पानीले खानालाई पचाउन र पोषक तत्त्वहरू अवशोषण गर्न मद्दत गर्छ । पर्याप्त पानीको अभावमा पेटमा अम्लता बढ्न सक्छ ।

५.केही औषधिको साइड इफेक्ट

केही औषधिहरू, जस्तै दुखाइ कम गर्ने औषधि, एन्टिबायोटिक वा अन्य नियमित औषधिहरूको साइड इफेक्टका कारण पनि ग्यास, अपच र एसिडिटीको समस्या हुन सक्छ । यस्ता औषधिहरूले पेटको अम्लता बढाउन वा पाचन प्रणालीमा असन्तुलन ल्याउन सक्छ।

६.खानाको समय अनियमित

अनियमित समयमा खाना खानु वा लामो समयसम्म भोकै बस्नुले पनि पेटमा अम्लता र ग्यासको समस्या बढाउँछ । खाना खाने समय अनियमित हुँदा पेटमा अम्लको उत्पादन असन्तुलित हुन्छ, जसले एसिड रिफ्लक्स र ब्लोटिङ निम्त्याउछ ।

७.धूम्रपान र अत्यधिक रक्सी सेवन

धूम्रपान र अत्यधिक रक्सी सेवनले पनि पेटको अम्लता र ग्यासको समस्या बढाउन सक्छ । धूम्रपानले पाचन प्रणालीमा रक्तसञ्चार कम गर्छ भने रक्सीले पेटको अम्लता बढाउँछ ।

ग्यास र एसिडिटीको समस्या समाधानका उपायहरू

-सन्तुलित खानपान

तारेको, भुटेको र अत्यधिक मसालेदार खाना कम खाने । दूध र अमिलो फलहरू, माछा र दूधजन्य पदार्थ वा दही र फलहरूसँगै नखाने । सागसब्जी, फलफूल र फाइबरयुक्त खानालाई प्राथमिकता दिने ।

-खानपानको समय व्यवस्थापन गर्ने

निश्चित समयमा खाना खाने बानी बसाल्ने । लामो समयसम्म भोकै नबस्ने र थोरै-थोरे खानेकुरा बारम्बार खाना खाने ।

-पर्याप्त पानी पिउने

दैनिक २–३ लिटर पानी पिउने । खाना खानुभन्दा ३० मिनेटअघि वा पछि पानी पिउने ।

-पर्याप्त निद्रा

दैनिक ६–८ घण्टा गुणस्तरीय निद्रा लिने । सुत्ने र उठ्ने समय नियमित राख्ने । यसका लागि विशेषतः राति माेबाईलकाे स्क्रिन टाईम व्यवस्थापन गर्ने ।

-तनाव व्यवस्थापन

योग, ध्यान वा गहिरो सास फेर्ने अभ्यास गर्ने । तनाव कम गर्न नियमित व्यायाम र मनोरञ्जनात्मक गतिविधिहरूमा समय बिताउने।

-धूम्रपान र रक्सीबाट टाढा रहने

धूम्रपान पूर्ण रूपमा छोड्ने । रक्सीको सेवन सीमित गर्ने वा पूर्णरूपमा बन्द गर्ने ।

औषधिको प्रयोगमा सावधानी

नियमित औषधि खानुपर्ने भए चिकित्सकसँग परामर्श गरी पाचनमा असर नपर्ने विकल्पहरूबारे छलफल गर्ने । अनावश्यक रूपमा दुखाइ कम गर्ने औषधिहरूको प्रयोग नगर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *