सर्लाही, ०३ भदौ । मधेश प्रदेश सरकारले सात वर्ष अगाडि सञ्चालनमा ल्याएको मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ योजनाअन्तर्गत ‘छोरी शिक्षा बीमा कार्यक्रम’ स्थगित गरेको छ ।
चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा छोरी शिक्षा बीमाका लागि बजेट विनियोजन नगरेको शिक्षा विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयकाे छोरी शिक्षा बीमा कार्यक्रमकी संयोजक प्रियङ्का यादवले बजेट अभावमा कार्यक्रम स्थगित भएको बताउनुभयो ।
निर्देशनालयबाट प्राप्त विवरण अनुसार छोरी शिक्षा बीमा कार्यक्रम अन्तर्गत अहिलेसम्म १४ हजार ४ सय ५३ जना छोरीको बीमा भएको छ । अहिले १० हजार छोरीको बीमाको प्रिमियम तिर्न बाँकी छ । कार्यक्रम अन्तर्गत १ जनाको बीमा गर्दा ३७ हजार चार सय ५७ रुपैयाँ ३७ पैसा प्रिमियम तिर्नुपर्छ ।