सर्लाही, ०३ भदौ । सिस्टम डाउन गरेर खुलेआम घुस खाने कम्पनी रजिस्ट्रारको कार्यालयले दिने सेवा प्रवाहमा ठूलो परिवर्तन भएको छ ।
कार्यालयमा दर नै तोकेर सेवाग्राहीसँग घुस खाने गरिएको र घुसविना कुनै पनि काम नहुने विषयमा निरन्तर समाचार प्रकाशित भएपिछ गरेपछि कार्यालयले प्रदान गर्ने अधिकांश सेवा ‘अटोमेटिक’ बनाइएको हो । कम्पनी ऐनको दफा ८१ बमोजिम विवरण अभिलेखन भएको प्रमाण (कार्यालयको डिजिटल हस्ताक्षर सहित) स्वचालित रूपमा नै तत्काल प्राप्त हुने प्रबन्ध मिलाइएको कम्पनी रजिस्ट्रारको कार्यालयले आइतबार एक सूचना प्रकाशित गरी जानकारी दिएको छ।
कम्पनीहरूले हरेक वर्ष कार्यालयमा बुझाउनुपर्ने वार्षिक विवरणहरू सम्बन्धित कम्पनीले आफ्नो क्यामिस एकाउन्टबाट पेस गरेपछि स्वचालित रूपमा कानुन बमोजिम लाग्ने जरिबाना हिसाब हुने र त्यो भुक्तान गर्ने बित्तिकै अभिलेखनको प्रमाण प्राप्त हुने कार्यालयले जनाएको छ ।
यसबाट कम्पनी रजिस्ट्रारको कार्यालयमा उपस्थित नभइकनै वार्षिक विवरण अभिलेखनका कार्य सम्पन्न हुनेछन्।
कार्यालयमा सञ्चालनमा रहेको ‘कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली’ (क्यामिस) मार्फत दर्तापछि सुुरु ठेगाना अभिलेख, ठेगाना परिवर्तन तथा पूँजी वृद्धिसम्बन्धी आवेदन समेत स्वचालित रूपमा अभिलेखन गर्ने तयारी गरिएको निमित्त कम्पनी रजिस्ट्रार देवीप्रसाद सुवेदीले बताए ।
केही समयभित्रै यी सबै काम स्वचालित रूपमा नै हुने पनि उनले बताए । ‘अहिले यो काम परीक्षण चरणमा छन्,’ उनले भने, ‘परीक्षण सफल भएपछि केही समयमा नै लागु हुन्छ ।’
त्यस्तै कम्पनी संस्थापना र कम्पनी प्रशासन सम्बन्धी कामको अभिलेखनका निर्णय गर्दा बढीमा २ तहबाट कार्य टुंगो लाग्ने प्रबन्ध मिलाइएको पनि कार्यालयले जनाएको छ ।
कम्पनी दर्ता गर्दा सहायक रजिस्ट्रारकै तहबाट काम गर्ने तथा दर्ता पछिका गतिविधि चुक्ता पूँजीका आधारमा सहायक रजिस्ट्रारकै तहबाट टुंगो लगाउने वा बढीमा उपरजिस्ट्रारसम्मबाट टुंगोे लाग्ने पनि कार्यालयको सूचनामा उल्लेख छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयका विकृतिहरू सार्वजनिक भएपछि उद्योग मन्त्रालयले कार्यालयका कानुन बाहेक अधिकांश कर्मचारी सरुवा गरेको थियो ।
त्यसपछि नयाँ आएका कर्मचारीलाई कार्यालयले एउटा ठूलो हलमा एकै ठाउँमा राखी काम गराउँदै आएको छ ।
यसअघि कार्यालयका कोठा–कोठामा कर्मचारी हुने, उनीहरूबीच समन्वयमा पनि समस्या हुने तथा नयाँ कर्मचारीलाई काम सिक्न पनि समस्या भएपछि सबै कर्मचारीलाई एकै ठाउँमा बसेर काम गर्ने व्यवस्था मिलाइएको निमित्त रजिस्ट्रार सुवेदीले बताए ।
‘कर्मचारीहरूलाई उपरजिस्ट्रारको सुपरीवेक्षणमा एउटा छुट्टै कर्पोरेट एक्सनका रूपमा राखी तालिम सहित वर्कसप मोडेलमा काम भइरहेको छ,’ उनले भने ।
अहिले पनि कार्यालयले बिहान, बेलुका तथा शनिबार समेत काम गरिहेको उनले बताए ।