Oplus_16908288

सर्लाही, ०३ भदाै । जनमत पार्टीले खेतबारीमा विद्युतीय तार झर्दा किसानको ज्यान जाने घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल विद्युत प्राधिकरणसमक्ष पाँच बुँदे माग पेश गरेको छ ।

मंगलबार पार्टीका केन्द्रीय प्रवक्ता डा. शरद सिंह यादवले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई ज्ञापनपत्र बुझाउँदै खेतबारीमा पोल र तारको अव्यवस्थित व्यवस्थापनका कारण किसानहरू करेन्ट लागेर ज्यान गुमाइरहेका घटना बढ्दै गएको भन्दै तत्काल नियन्त्रण गर्न आग्रह गरे ।

ज्ञापनपत्रमा कृषि विद्युतीकरणका लागि छुट्टै मापदण्ड बनाई कार्यान्वयन गर्नुपर्ने, खेतमा पोल वा डिस्ट्रीब्युशन बक्स जडान गर्दा सुरक्षित दूरी र प्रविधि अपनाउनुपर्ने माग गरिएको छ । त्यस्तै, विद्युतीय कारणले हुने क्षति र मृत्यु भएमा पीडित किसान तथा परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, कृषि बीमा प्रणालीमा विद्युत जोखिम समेत समेटेर किसानको सुरक्षाका लागि विद्युतीय कृषि बीमा लागू गर्नुपर्ने भनिएको छ ।

पार्टीले कृषि उपयोगका लागि जडित मीटर तथा बिल निःशुल्क गर्नुपर्ने मागसमेत राखेको छ । उक्त ज्ञापनपत्रमा किसानले आफ्नो खेतमा अनियोजित रूपमा तार झुन्डिएको वा पोल राखिँदा ज्यान गुमाउनुपरेको दु:खद अवस्थाप्रति चिन्ता व्यक्त गर्दै यस्ता दुर्घटना रोक्न प्राधिकरणले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *