सर्लाही, ०३ भदाै । जन्म दर्ता नभएका विद्यार्थीलाई पनि माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा फाराम भर्न पाउने व्यवस्था गर्न सांसद मदनकुमारी साहले सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

राष्ट्रिय सभा सदस्य साहले बुवा आमाको पहिचान नभएका करिब २५ हजार विद्यार्थीको जन्म दर्ताको प्रमाणपत्र नभएका कारण एसइईको फाराम भर्न नपाएको सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

शून्य समयमा बोल्दै सांसद नरबहादुर विष्टले मेलम्ची खानेपानी आयोजनाका बाबजुद काठमाडौँमा खानेपानीको अभाव सम्बोधन हुन नसकेकोतर्फ ध्यानाकर्षण गराए ।

“असार, साउन र भदौ महिना मूल फुट्ने समय हो तर काठमाडौँ खानेपानी आयोजना र सङ्घीय सरकारको मिलेमतोमा पानी बन्द गरिने रहेछ”, सांसद विष्टले भने, “काठमाडौँ बासी शुल्क तिरेर खानेपानी किन्न बाध्य छन ।” सांसद नारायणदत्त मिश्रले रासायनिक मललाई खुल्ला बजारमा ल्याउनुपर्नेमा जोड दिँदै मल वितरणमा अनियमितता भइरहेकोतर्फसमेत ध्यानाकर्षण गराए ।

सांसद भुवनबहादुर सुनारले गत साउन २७ गते आएको बाढीले बाजुरा जिल्लाको विच्छयामा पुगेको क्षति र पछिल्लो अवस्थाबारे सदनलाई जानकारी गराउन सभाध्यक्षमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराए ।

शून्य समयमा बोल्दै सांसद युवराज शर्माले गरिबीको रेखामुनि रहेका नागरिकलाई रासन कार्ड उपलब्ध गराई सस्तो मूल्यमा खाद्यान्न उपलब्ध गराउनुपर्ने सुझाव प्रस्तुत गरे ।

सांसद राजेन्द्रलक्ष्मी गैरेले हमासद्वारा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक पहलका लागि माग गरिन् । अन्तर्राष्ट्रिय दबाबका लागि इजरायल पुगेका विपिनका आमा र बहिनीलाई आवश्यक सहयोग र समर्थनका लागि समेत आग्रह गरिन् ।

सांसद सुरेशकुमार आले मगरले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानालाई महाअभियोग लगाउने चर्चाबारे धारणा राख्दै यस्तो दुष्प्रयास गर्न नहुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *