सर्लाही, ०३ भदौ । वैदेशिक रोजगार विभागमा न्याय माग्दै परेका उजुरी संख्या ३६ हजार नाघेको छ ।
वैदेशिक रोजगारी क्रममा ठगीमा परेका, अलपत्र पारिएका तथा करार अनुसार काम र तलब नपाएका श्रमिकले दिएका उजुरीको यति ठूलो संख्या फर्छ्योट हुन नसकेको होे ।
विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले २०६४ सालदेखिका उजुरी फर्छ्योट हुन बाँकी रहेको बताए । विभागमा दैनिक करिब २ सय हाराहारी नयाँ उजुरी थपिने गरेको उनको भनाइ छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै राहत उद्धारतर्फ १ हजार ८ सय २२ र मुद्दा शाखामा ५ हजार ६ सय ३२ र प्रहरी शाखामा ५ हजार ३ सय ३७ उजुरी परेका थिए ।
तीमध्ये राहत उद्धारमा ९ सय ७९, मुद्दा शाखा ५ सय २८ र प्रहरी शाखामा ४ हजार ८ सय ७६ उजुरी फ्छर्योट भएका थिए । विभाग परिसरमा रहेको प्रहरी शाखाले भने आफ्नो तर्फबाट गर्नुपर्ने कार्य तीव्र गतिमा हुँदै आएको देखिन्छ ।
‘हामीसँग २०६४ सालदेखिका उजुरी छन्,’ महानिर्देशक भट्टराईले भने, ‘यो ठूलो संख्याको उजुरी फर्छ्योटका लागि हामीसँग सीमित कर्मचारी छन्, जसले गर्दा प्रक्रियामा ढिलाइ भइरहेको छ ।’
उजुरीको यो चाङ व्यवस्थापन गर्न र पीडितलाई छिटो न्याय दिलाउन विभागले नयाँ कार्ययोजना अगाडि बढाएको छ ।

महानिर्देशक भट्टराईका अनुसार पुराना उजुरी चरणबद्ध फर्छ्योट गर्ने योजना बनाइएको छ । ‘हामीले २०७० सालदेखिका उजुरीलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने तयारी गरेका छौं । पहिलो चरणमा २०६४ देखि २०७० सालसम्मका उजुरी टुंग्याउने, त्यसपछि क्रमश: २०७२, २०७५ हुँदै हालसम्मका उजुरी हेर्नेछौं,’ उनले भने ।
वैदेशिक रोजगारीसँग सम्बन्धित कानुन समयसापेक्ष बनाउन र प्रक्रिया सरल बनाउन केही नेपाल ऐनमा संशोधन पहल भइरहेको भट्टराईले बताए । कानुनी सुधारपछि मुद्दाको प्रक्रिया छिटो र सहज हुने विभागको अपेक्षा छ ।