सर्लाही, ०३ भदाै । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकार शिक्षाको गुणस्तर सुधारका उद्देश्यसहित अघि बढिरहेको बताएका छन् । मंगलबार जनकपुरधाममा शिक्षा तथा संस्कृति मन्त्रालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन् ।
सो अवसरमा एसइई परीक्षा–२०८१ मा धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरीका स्थानीय तहबाट उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई साइकलबाट प्रोत्साहन गरिएको थियो ।
मुख्यमन्त्री सिंहले दिनानु दिन खस्किँदो शैक्षिक स्तर सुधारका लागि विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको उल्लेख गरे । कमजोर नतिजाबीच पनि उत्कृष्ट उपलब्धि हासिल गर्ने विद्यार्थीलाई उनले बधाई दिँदै उज्ज्वल भविष्यको शुभकामना समेत दिए ।
“राष्ट्रलाई कसरी अघि बढाउने भन्ने जिम्मेवारी पनि भविष्यमा तपाईंहरूको काँधमा आउन सक्छ,” उनले विद्यार्थीलाई सम्बोधन गर्दै भने, “देशको समृद्धि र विकासमा योगदान पुर्याउने भूमिका लिनुपर्नेछ।”उनले विगतमा मधेश प्रदेशको शिक्षा स्तरले देशव्यापी छुट्टै पहिचान बनाएको स्मरण गर्दै सो पहिचानलाई पुनः कायम गर्न प्रदेश सरकार योजनाबद्ध ढंगले अघि बढ्ने बताए ।
लोकसेवा आयोग सम्बन्धी प्रसंग जोड्दै उनले भने, “२०७५ सालदेखि रोकिएको परिणामका कारण धेरै पद रिक्त थिए। सरकारको नेतृत्व सम्हालेपछि आयोगमा पदाधिकारी नियुक्त गरेर करिब ५५० कर्मचारीको सिफारिस गरिएको छ ।” साथै, महिला आरक्षणमा आवेदन नपर्दा कोटा खाली रहने गरेको भन्दै महिलालाई सक्रिय रूपमा सहभागी हुन उनले आग्रह गरे।सामुदायिक विद्यालयमा छोराछोरी पढाउने अभिभावकलाई ध्यान दिन आग्रह गर्दै मुख्यमन्त्री सिंहले भने, “अभिभावकले चासो देखाएमा शैक्षिक गुणस्तरमा उल्लेख्य सुधार सम्भव छ।”कार्यक्रम शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
नेपाल एसबिआई बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध साइकलबाट प्रदेशका पाँच जिल्लाका १५० उत्कृष्ट विद्यार्थीलाई वितरण गरिएको हो।सो अवसरमा भारतको महाबाणिज्य दूतावास बीरगञ्जका प्रमुख देवी सहाय मिना, नीति तथा योजना आयोगका सदस्य डा. शिला मिश्रा, शिक्षा तथा संस्कृति मन्त्रालयका निमित्त सचिव दिलिप ठाकुरलगायतको उपस्थिति थियो।