सर्लाही, ०४ भदाै । सत्तारुढ दुई दल नेकपा एमाले र नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरविरूद्ध पद अनुकूल आचरण नगरेको प्रस्ताव अघि बढाए साना दल निर्णायक हुनेछन् ।

उनीहरु संसदको संख्यामा निर्णाायक रहे पनि कांग्रेस र एमाले प्रस्ताव ल्याउने तयारी गरेपछि ती दलका सांसदहरू मंगलबार दिनभर अलमलै रहे । यसअघि समेत कांग्रेस र एमालेले उपसभामुखबाट रानालाई हटाउने प्रयास गरेको र फेरि त्यस अनुकूलको व्यवहार गरेकाले वास्तविकता के हो बुझ्नै बाँकी रहेको साना दलका नेताहरूको प्रतिक्रिया छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको ४५ दिन भयो । कांग्रेस र एमालेले हस्ताक्षर संकलन सुरु गरिसकेपछि समर्थन प्राप्त हुन सक्ने साना दलसँग संवाद अगाडि बढ्यो । सत्तापक्षमा रहेका लोकतान्त्रिक समाजवादी, जनमत पार्टी कांग्रेस र एमालेले बोलाएको बैठकमा जाने नै भए । तर, मंगलबार सत्तापक्षको छलफलमा नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि गइन् । बैठकमा अध्यक्ष श्रेष्ठले उपसभामुख हटाउने सन्दर्भमा पार्टीको मत के हो भन्ने प्रष्ट राखिनन् । बरु फेरि छलफल गर्ने भनेर बाहिरिइन् । ‘मैले यो गर्छु भनेर केही भनेकी छैन,’ अध्यक्ष श्रेष्ठले अनलाइनखबरसँग भनिन् ।

सत्तापक्षमै रहेको जनमत पार्टी पनि अलमलमै छ । कांग्रेस र एमालेका सांसदहरूले हस्ताक्षर संकलन सुरु गरिसकेपछि विषय के हो भनेर चासो राख्ने अवस्था बनेको बताउँछन्, जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान ।

‘उपसभामुखलाई हटाउनेबारे न अन्य दलले हामीसँग छलफल गरेका छन् न कहीँ छलफल भएको थियो,’ उनी भन्छन्, ‘औपचारिक रुपमा आएपछि कुरा गरौंला ।’

तथापि, मंगलबार दिउँसो सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा भएको सत्तापक्षको छलफलमा जनमत पार्टीकी सांसद अनिता देवी उपस्थित थिइन् । उक्त छलफलमा जनमत पार्टीले पनि प्रष्ट मत प्रकट गरेन ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले भने सुझबुझपूर्ण तरिकाले निर्णय लिन कांग्रेस र एमालेलाई सुझाएका छन् । सत्तापक्षको छलफलमा सहभागी लोसपाका अध्यक्ष महन्थ ठाकुरले ‘जे कार्य गर्दा पनि दिगो हुने गरी गर्नुपर्ने’ राय प्रकट गरेका थिए ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सार्वजनिक रुपमा केही प्रतिक्रिया दिएको छैन । ऊ सत्तापक्षमै रहेर अगाडि बढ्ने मनस्थितिमा छ ।

जनता समाजवादी पार्टी नेपाल सरकारले के गर्न चाहेको हो त्यसबारे पहिले प्रष्ट हुने नीतिमा रहेको बताउँछ । जसपा नेपालका नेता प्रकाश अधिकारी भन्छन्, ‘औपचारिक निर्णय केही भएको छैन । के गर्न चाहेको हो त्यो बुझेपछि न धारणा बनाउने कुरा भयो । हामी घटना बुझ्ने क्रममै छौं ।’

प्रतिपक्षमा रहेका साना दलहरू पनि उपसभामुखबारे पर्ख र हेरको नीतिमा छन् ।

‘आज उपसभामुख हटाउने भनेर हस्ताक्षर संकलनको कुरा आयो । यसअघि पनि प्रयास भएको थियो,’ नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर भन्छन्, ‘घटनाक्रम हेर्दा ठीक ढंगले अगाडि बढ्न खोजेको देखिँदैन् ।’

तथापि, अहिलेको अवस्थामा उपसभामुखबाट रानालाई हटाउनुपर्ने कारण नदेखेको र हटाउने प्रस्ताव आए पार्टीले साथ नदिने कुँवरको जवाफ छ । उनी भन्छन्, ‘उपसभामुख हटाउने कुरा औपचारिक रुपमै हामी विरुद्धमा जान्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *