सर्लाही, ०४ भदाै । अघिल्लो साता मंगलबार बिहान पर्साको ठोरी गाउँपालिका-२ हनुमाननगर बस्ने मनोज कठायतका दुई छोरा खेल्न घरबाट निस्किए । ८ वर्षीय अंश र ४ वर्षीय आयंश नाम गरेका ती दुई बालक खेल्दै घरदेखि १५० मिटर टाढा ठोरी- १ र २ को बीचबाट बग्ने डेढु खोला पुगे ।

डोजरले बालुवा झिकेर बनेको खाल्डोको पानीमा नुहाउन पसेका उनीहरू केहीबेरमै तैरिरहेको अवस्थामा फेला परे । स्थानीयले दुवै बालकलाई ठोरीस्थित अस्पताल पुर्‍याए । अस्पताल पुर्‍याउनेवित्तिकै चिकित्सकले बालकहरूलाई मृत घोषणा गरे । ‘केही पहिले खोलाबाट गाउँलेले बालुवा झिकेका थिए । त्यसमा जमेको पानीमा दुवै बालक डुबे । स्थानीयले देखेर उद्धार गरी अस्पताल लैजाँदा मृत्यु भइसकेको थियो,’ ठोरी-२ का वडाध्यक्ष अमृतकृष्ण सापकोटाले भने ।

६ जेठमा धनुषा कमला नगरपालिका-२ सराबे टोल छेउमा नवनिर्मित कृषि सडकको खाल्डोमा दुई बालक डुबे । घरबाट खेल्न निस्केका स्थानीय रामबाबु साहका ७ वर्षीय छोरा रितिक साह र उनकै भाइ श्यामबाबु साहका ५ वर्षीय छोरा रितिश साहको डुबेर मृत्यु भयो ।कृषि सडक निर्माणका क्रममा ५ फिट गहिरो खाल्डो खनेर माटो सडकमा हालिएको थियो । कमला नगरपालिकाको १० लाख लगानीमा कोटेसनमार्फत जयबाबा नर्सिङ कन्स्ट्रक्सनले बाटो बनाउने जिम्मा पाएको थियो । जसको ठेकेदार राजेन्द्र मण्डल थिए ।

उनले आफ्नै खेतबाट बाटो बनाउँदा सम्झौता विपरीत गहिरो गरी खनेको खाल्टोमा जमेको पानीमा दुवै बालक डुबे । घटना मिलाइयो । तर जथाभावी खाल्डो खन्नेलाई कुनै कारबाही भएन । केही रकम लेनदेनमा घटना सामसुम पारिएको स्थानीयले बताएका छन् ।

१८ असार अपराह्न साढे ४ बजे महोत्तरीको मरहा खोलाको खाल्डोमा गौशाला नगरपालिका-१० जलिल टोलका दिनेश मण्डलकी ११ वर्षीया छोरी करिनाकुमारी मण्डल डुबेको अवस्थामा फेला परिन् । आर्थिक वर्ष २०७९/०८० मा १२४ जनाको मृत्यु हुँदा ८२ जना बालबालिका थिए । यी तथ्यांकले मधेशमा वर्षेनी बालबालिकाको डुबेर हुने मृत्युको ग्राफ बढ्दै गएको देखिन्छ ।

बालबालिकाको डुबेर मृत्यु हुने क्रम बढ्नुमा गाउँगाउँका माछा पोखरी, नुहाउने, लुगा धुने पोखरी, विकास निर्माणका लागि खनिएका खाल्डा र निजी जग्गाबाट माटो-ग्राभेल बेचेर छाडिएका खाल्डो प्रमुख कारण भएको मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी उमाप्रसाद चतुर्वेदी बताउँछन् । ‘गाउँगाउँमा पालिका वा निजी जग्गाबाट माटो बेचिन्छ । तर त्यसको व्यवस्थापन र संरक्षण कसरी गर्ने भन्ने योजना हुँदैन । वर्षौंसम्म खाल्डा पुरिँदैनन्, यही कारण त्यो खाल्डाहरूमा वर्षाको पानी जमेपछि बालबालिका डुब्ने गर्छन्,’ डीआईजी चतुर्वेदी भन्छन् ।

यस्तो समस्या समाधानका लागि स्थानीय सरकार र जिल्ला समन्वय समितिको भूमिकामा महत्वपूर्ण रहेको उनको भनाइ छ । ‘ऐलानी वा सार्वजनिक जग्गा पालिकाको स्वामित्वमा हुन्छ । ठेक्का लगाउने, कति घनमिटर माटो खन्ने, बेच्ने भन्ने जिम्मेवारी पनि पालिकाकै हो । तर ठेकेदारले कति खने अनुगमन गर्दैन । कारबाही नगर्दा खाल्डा छाड्ने प्रवृत्ति बढेको हो,’ उनको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *