सर्लाही, ०४ भदाै । नेपालको पर्यटनलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले सामाजिक सञ्जाल टिकटक र नेपाल पर्यटन बोर्डबिच मंगलबार एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । पर्यटन बोर्डको कार्यालयमा आयोजित एक कार्यक्रममा नेपालको भूगोल, सांस्कृतिक सम्पदा र साहसिक अनुभवलाई विश्वभरका दर्शकसम्म पुर्‍याउन सहकार्य गर्ने सहमति भएको हो ।

सम्झौता पत्रमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र टिकटक दक्षिण एसियाकी उपप्रमुख मारिया कोमले हस्ताक्षर गरे । कार्यक्रममा पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले यो सहकार्यले नेपालको सुन्दरतालाई विश्वमाझ प्रस्तुत गर्नुका साथै स्थानीय व्यवसायी र सामग्री निर्मातालाई समेत फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

पर्यटन नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै उनले यस्ता सकारात्मक पहलमा मन्त्रालयको सधैँ साथ रहने बताए । सर्जकहरूका वास्तविक अनुभवले विश्वका पर्यटकलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने उनको भनाइ थियो ।

यो सहकार्य अन्तर्गत टिकटकमा #LifetimeExperience र #VisitNepal ह्यासट्याग अभियान चलाएर नेपालको प्रचार गरिनेछ । बोर्ड र टिकटकको संयुक्त पहलमा स्थानीय तथा अन्तर्राष्ट्रिय सामग्री निर्माताहरूलाई नेपालका विभिन्न स्थानको भ्रमण गराई छोटा भिडिओमार्फत आफ्ना यात्रा अनुभव संसारलाई देखाउन प्रेरित गरिनेछ । 

टिकटक दक्षिण एसियाका सार्वजनिक नीति तथा सरकारी सम्बन्ध प्रमुख फेर्डोस मार्टकिनले यो सहकार्य सरकार, प्लेटफर्म र नागरिकबिचको त्रिपक्षीय सम्बन्धको उदाहरण भएको बताउँदै यसले समग्र पर्यटन क्षेत्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने बताए ।

टिकटकका प्रतिनिधि उमाइस नाविधले मानिसहरूले आजकल गाइडबुकभन्दा वास्तविक अनुभवमा आधारित सामग्री मन पराउने भएकाले टिकटक नेपालको प्रचारका लागि उत्कृष्ट माध्यम बन्न सक्ने बताए । यो अभियान आगामी डिसेम्बरसम्म सञ्चालन हुनेछ ।

जसअनुसार सेप्टेम्बर महिनामा स्थानीय सामग्री निर्माताहरूलाई लक्षित गरी टिकटकको प्रयोग र पर्यटन लक्षित सामग्री निर्माणबारे तालिम दिन तीनवटा कार्यशाला आयोजना गरिनेछ । त्यसपछि अक्टोबरमा छनोटमा परेका निर्माताहरूले नेपालका विभिन्न गन्तव्यको भ्रमण गर्नेछन् ।

काठमाडौँमा नोभेम्बरमा एक विशेष कार्यक्रम आयोजना गरी मध्य नोभेम्बरदेखि टिकटकमा सामग्रीहरू पोस्ट गर्न थालिनेछ भने डिसेम्बरमा अभियानको पहिलो चरण समापन हुनेछ । आगामी वर्ष पनि सहकार्यलाई अघि बढाइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *