सर्लाही, ०४ भदाै । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका नेपालीहरूले नेपाली दूतावास साउदीबाट श्रम स्वीकृतिको वैधानिकीकरण (नवीकरण) सुरु गरेका छन् ।
गत शुक्रबार नेपाली राजदूत डा. नरेश विक्रम ढकाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद सिंह भण्डारीको उपस्थितमा भर्चुअल माध्यमबाट बैधानिकरण श्रम स्वीकृति सुर गरिएको हो ।
राजदूत ढकालले साउदी कार्यरत नेपालीलाई सहजीकरण गर्ने उद्देश्यले सो सुविधा ल्याएको बताए । यस्तै श्रम नवीकरण गर्न नेपाल फर्किनुपर्ने बाध्यतालाई अन्त्य गरी साउदी दूतावासबाट नै वैधानिक रूपमा अनलाइन माध्यममार्फत श्रम स्वीकृति नवीकरण गर्ने व्यवस्था सुरु गरिएको उनले बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको नयाँ कार्यविधि अनुसार यो व्यवस्थाले श्रम स्वीकृतिको म्याद सकिएर पनि वैधानिक रूपमा कार्यरत तर नेपाल फर्कन नपाएका श्रमिकहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास गरिएको छ । श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार श्रम स्वीकृतिका लागि हालसम्म ३ जनाले आवेदन दिएका छन् । यस्तै सन् २०२४ सेप्टेम्बर ३० भन्दा पहिलेदेखि नै साउदी अरबमा कानुनी रूपमा कार्यरत श्रमिकहरूले श्रम स्वीकृति नवीकरणका लागि आवेदन दिनसक्नेछन् ।
आवेदन दिन श्रमिकहरूले वैदेशिक रोजगार विभागको आधिकारिक अनलाइन प्रणालीमा गएर फाराम भर्नुपर्ने व्यवस्था मिलाइएको उनले बताए । आवेदन प्रक्रियालाई सहज र पारदर्शी बनाउन दूतावासले स्पष्ट कार्यविधि तोकेको उनले जानकारी दिए । श्रमिकहरूले आवेदनका साथमा आफ्नो राहदानी, साउदीको वैध आवासीय अनुमति पत्र (अकामा), नेपालमा गरिएको म्यादी जीवन बीमा, सामाजिक सुरक्षा कोष र वैदेशिक रोजगार कल्याणकारी कोषमा तोकिएको रकम जम्मा गरेको प्रमाण तथा हाल कार्यरत कम्पनीसँगको करार सम्झौता अनलाइनमा अपलोड गरिएको हुनुपर्ने छ ।
दूतावासले प्राप्त आवेदन र कागजातको आधिकारिकता जाँच गर्ने र प्रक्रिया स्वीकृत हुनुअघि आवेदकको जैविक विवरण (फोटो, आँखाको आइरिस स्क्यान र औँठाछाप) समेत लिइनेछ। कुनै कागजात अपुग वा अस्पष्ट भएमा आवेदन अस्वीकृत गरी थप विवरण पेस गर्न आवेदकलाई सूचित गरिने जनाइएको छ।