सर्लाही, ०४ भदाै । अर्थ समितिका सभापति सन्तोष चालिसेले विद्यमान कानुनहरूमाथि प्रश्न उठाएका छन् । अहिलेका कानुनहरू थुनेर कुरा सुन्ने खालका रहेको बताउँदै त्यसले निकास नदिने उनको भनाइ थियो ।

बुधवारको अर्थ समितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई थुनेर नभई बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे ।

‘यस्ता कानुन बनाउने को हो यो ? पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि । थुन्ने होइन नि,’ सभापति चालिसेले भने, ‘कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातावरण हाम्रा कानुनले बनाइदिनुपर्छ ।’

उनले २५ हजार भन्दा बढी भारतीय रुपैयाँ ल्याउने कानुन ठिक नभएको समेत बताउँदै त्यस्तो प्रावधान संशोधन गर्ने गरी भन्सार विधेयक अघि बढाइने स्पष्ट पारे ।

‘उसले पैसा नपाएर रुवाबासी, यता थुनिने थुनभित्र रुवाबासी गर्नुपर्ने । त्यो पनि हुन्छ कहीँ । कसैले बदमासी गरेको छ भने सम्पत्ति रोक्का गरेर भए पनि हामीले तिर्नैपर्ने भन्नुपर्छ । थुन्नु हुँदैन । बाहिर राख्नुपर्छ । थुनेर के फाइदा हुन्छ । कसलाई फाइदा हुन्छ ?,’ उनले भने ।

बुधवारको अर्थ समिति बैठकले वैकल्पिक वित्तसम्बन्धी विधेयकलाई सर्वसम्मति रूपमा पारित गरेको छ । उक्त विधेयकलाई आगामी संसद बैठकमा समिति सभापति चालिसेले सदनमा प्रस्तुत गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *