सर्लाही, ०४ भदाै । मधेश प्रदेश सरकारले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा सेवा प्रवाहमा देखिएको लापरबाहीका कारण दुई मेडिकल अधिकृतसहित चार जना स्वास्थ्यकर्मीलाई तीन दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
मुख्यमन्त्री सतिश कुमार सिंहको निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेश प्रदेशले मेडिकल अधिकृत डा. शिखा अधिकारी र डा. सद्रे आलम तथा स्टाफ नर्स मन्दिका कुमारी यादव र रञ्जिता साहलाई लिखित रूपमा जवाफ पेश गर्न निर्देशन दिएको हो ।
सेवाग्राहीहरूले उपचार पाउन कठिनाइ भएको, अस्पतालमा सेवा प्रवाह प्रभावकारी नभएको तथा स्वास्थ्यकर्मीहरूले आफ्नो जिम्मेवारी ठीकसँग निर्वाह नगरेको गुनासो आएपछि मन्त्रालयले कारण मागेको हो ।
महोत्तरीस्थित विभिन्न संघ–संस्थाका प्रतिनिधि र सरोकारवालाहरूले मुख्यमन्त्री सिंहलाई ज्ञापनपत्र बुझाउँदै प्रादेशिक अस्पताल जलेश्वरमा गुणस्तरीय उपचार सेवा नपाएर नागरिक ज्यान जोखिममा परेको गम्भीर अवस्था औंल्याएका थिए। त्यसपछि मुख्यमन्त्री सिंहले तत्काल अनुगमन तथा छानबिन गर्न निर्देशन दिएका थिए ।
स्वास्थ्यकर्मीहरूलाई सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको, आचारसंहिता उल्लङ्घन गरेको र कार्य सम्पादनमा लापरबाही गरेको आरोप लागेको छ। मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ, “तीन दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले आवश्यक कारबाही अगाडि बढाउनेछ ।”
मधेश प्रदेश निजामती सेवा ऐन, दफा ८६ को उपदफा १ (खण्ड घ) अनुसार आचरणसम्बन्धी नियम उल्लङ्घन भएमा र उपदफा १ (खण्ड च) अनुसार जानाजान सेवा प्रवाहमा ढिलासुस्ती गरी सेवाग्राहीलाई हानी पु¥याएमा कारबाही गर्नसकिने व्यवस्था भएकाले सोही आधारमा स्पष्टीकरण सोधिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंहले सेवा प्रवाहमा लापरबाही गर्नेलाई मन्त्रालयले कडाभन्दा कडा कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि पद अनुसार कार्यक्षमता नदेखाउने र लापरबाही गर्ने प्रदेश सरकार मातहतका कर्मचारीमाथि कडा कारबाही गरिने स्पष्ट पारेको छ ।