सर्लाही, ०५ भदाै । मुलुकमा दुई ठूला दलहरूको नेतृत्वमा बनेको सरकार एक वर्षसम्म स्थिर रहँदा कर्मचारी प्रशासनमा भने चरम अस्थिरता देखिएको छ ।  
स्थायी सरकारका रुपमा मानिने कर्मचारी प्रशासनलाई वर्तमान सरकारले चरम रुपमा अस्थिर बनाएको पछिल्ला घटनाहरूले पुष्टि गरेका छन् ।

पछिल्लो एक सातामा मात्रै मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने जिम्मेवारी पाएको अर्थ मन्त्रालयभित्र सरुवा आंतक चलेको छ। एक सातामै अर्थमन्त्रालय मातहतका उच्चपदस्थसहित ८० भन्दा बढी कर्मचारीहरूको सरुवा हुँदा कुन कर्मचारी कति बेला कहाँ पुग्ने हो भन्ने भयमा यतिबेला अर्थका अधिकारीहरू पुगेका छन् ।

अर्थमन्त्रालय मातहतका कर्मचारीको सरुवामा अर्थमन्त्री विष्णु पौडेलले व्यापक रुपमा ध्यान केन्द्रित गराएका छन् । मन्त्रालय मातहतका १२ सहसचिवको जिम्मेवारी हेरफेर गरेको एक साता नबिन्दै पौडेलले ६८ जना उपसचिवको सरुवा गरेका छन्।

वीरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानालाई अर्थ मन्त्रालय तानेर उनको ठाउँमा काजीबाबु कोइरालालाई पठाइएको छ । कोइराला त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृतका रुपमा कार्यरत थिए । मन्त्री पौडेलले ढुंगानासहित विभिन्न कार्यालयका १३ जनालाई मन्त्रालयमा तानेका छन् ।

मन्त्री पौडेलले साउन ३० गते भन्सार विभागका महानिर्देशकसहित एकदर्जन सहसचिवको जिम्मेवारी हेरफेर गरेका थिए । यो सरकार बनेको १ वर्ष पुग्दै गर्दा  अर्थमन्त्री पौडेलले भन्सार विभागमा एक वर्षमा चार जना महानिर्देशक फेरेका थिए । 

मन्त्री पौडेलले आफैँले महानिर्देशक बनाएका महेश भट्टराईलाई ६ महिनामै हटाए । भट्टराईलाई अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखा सरुवा गरी उनको ठाउँमा अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको रुपमा कार्यरत श्याम भण्डारीलाई महानिर्देशक बनाएका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *