सर्लाही, ०५ भदाै । सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थित एक घरबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गर्दै एक दम्पतीलाई नियन्त्रणमा लिएको छ ।
आज साँझ करिब ४ बजेतिर प्रहरीलाई रुपेश साहको घरमा गाँजा लुकाइएको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो ।

प्रहरी चौकी हरिपुर्वाबाट प्रहरी सहायक निरीक्षक शेख हफ्जुल्लाहको नेतृत्वमा ४ जना, जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक रविन्द्र कार्कीको कमाण्डमा ११ जना र इलाका प्रहरी कार्यालय केशरगंजबाट प्रहरी निरीक्षक उमाकान्त जोशीको नेतृत्वमा ११ जना प्रहरी टोली खटिएको थियो ।
घर खानतलासीको क्रममा साहको पक्की घरको छतमा लुकाई राखिएको २० केजी ३४० ग्राम गाँजा फेला परेको प्रहरीले जनाएको छ। सो घटनासँग सम्बन्धित रही घरका मालिक ४५ वर्षीय रुपेश साह र उनकी श्रीमती करिब ३५ वर्षीया प्रतिमा कुमारी साहलाई नियन्त्रणमा लिइएको छ ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवा पठाइएको प्रहरीले जानकारी दिएको छ ।