सर्लाही, ०५ भदाै । ‘बिजनेस इन्टेलिजेन्स एन्ड डाटा भिज्वलाइजेसन प्रयोग गरी डाटा एनालाइसिस गर्न २२२ वटा मुद्दा चल्ने प्रहरी कार्यालयहरूका लागि दक्ष जनशक्ति तयार पारिरहेका छौं ।’

प्रहरी प्रधान कार्यालयमा ११ साउनमा आयोजित एक कार्याक्रममा केन्द्रीय प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) विनोद घिमिरेले अपराध अनुसन्धानमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स)को प्रयोगबारे बताएका थिए ।

एआईमा आधारित भएर अपराध अुसन्धानलाई थप परिस्कृत गर्दै लगिने र यसले अपराध नियन्त्रणमा सहयोग पुग्ने उनले उल्लेख गरेका थिए ।

डीआईजी घिमिरेले भनेझैं प्रहरीमा एआई बेस बिजनेस इन्टेलिजेन्स एन्ड टाडा भिज्वलाइजेसन टुल्स प्रयोगबारे तालिम दिएर दक्ष जनशक्ति निर्माण गरिएको बताइएको छ । एआई प्रविधि प्रयोग गर्नका लागि दक्ष जनशक्ति उत्पादनको काम अन्तिम चरणमा पुगेको प्रवक्ता घिमिरेले बताए ।

दक्ष जनशक्ति तयार पारेपछि यसलाई कार्यान्वनको चरणमा लगिने बताइएको छ । प्रहरीको कम्युटर सेवा निर्देशनालयका प्राविधिक डीआईजी अरुण भण्डारी पनि अहिले प्रहरीलाई तालिम दिएर दक्ष बनाउने काम भइरहेको बताउँछन् ।

‘एआई टुल्स भित्रिए पनि यसको प्रयोगका लागि हामीसँग जनशक्ति थिएन । अहिले भने तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब केही समयमै कार्यान्वयनमा लैजान्छौं,’ भण्डारीले अनलाइनखबरसँग भने ।

अहिले नेपाल प्रहरीमा देशभर २२२ वटा युनिटबाट मुद्दा चल्छन् । जसमा इलाका प्रहरी कार्यालय ११५ वटा, जिल्ला प्रहरी कार्यालय ७४, प्रहरी वृत्त १८, वडा प्रहरी कार्यालय ८ वटा, ब्युरो ४ वटा र परिसर ३ वटा छन् । मुद्दा चल्ने यी इकाइहरूमा एआई बिजनेस इन्टिलेजेन्स डाटा भिज्वलाइजेसन तालिम प्राप्त जनशक्ति राखेर अपराधको डाटा विश्लेषण गर्ने गरी प्रहरीले प्रक्रिया अघि बढाएको हो ।

प्रविधिमैत्री अपराध हुन थालेसँगै यसले अनुसन्धानमा जटिलता थपेको प्रहरीको बुझाइ छ । यसैका लागि एआईमा आधारित भएर प्रहरीले काम सुरु गर्न लागेको हो । यसका लागि एक भारतीय कम्पनीसँग ९ करोड ११ लाखमा एआई बिजनेस इन्टेलिजेन्स टुल्स खरिद गरिएको थियो ।

यो प्रविधि सञ्चालनबारे सुरुमा १५ प्रहरीलाई भारत पठाएर तालिम दिइएको थियो । पहिलो पटक सातजना र अर्को पटक गरी आठजनालाई भारत पठाएर तालिम दिइएको थियो । अहिले भने नेपाल प्रहरी आफैंले तालिम दिएर थप दक्ष जनशक्ति उत्पादन गरिएको बताइएको छ ।

कसरी गर्छ काम ?

यो प्रविधि सञ्चालनमा आएसँगै एनालाइटिकल्स टुल्सको प्रयोगबाट अपराध अनुसधानमा सहजता आउने बताइएको छ । यसमा भएका अपराधसम्बन्धी डेटाहरूले आगामी दिनमा आउन सक्ने अपराधका चुनौती र ध्यान दिनुपर्ने विषयबारे विश्लेषण गरी रिपोर्ट दिने बताइएको छ ।

‘यसले अपराधका डेटाहरूको एनालाइसिस गर्छ र आगामी दिनमा ध्यान दिनुपर्ने विषयहरू सुझाउनुका साथै चुनौतीका विषय यी हुन सक्छन् भनेर इन्डिकेट गर्छ,’ डीआईजी भण्डारीले भने ।

भावी चुनौती र समाधानका उपायहरूबारे समेत सुझाउने भएकाले सोहीअनुसार पुलिसिङ रणनीति बनाएर कार्यान्वयन लगिने सक्ने बताइएको छ ।

अपराधको रुवरूप परिवर्तन हुँदै प्रविधिमैत्री हुँदै जाँदा अनुसन्धानमा थपिएको चुनौतीलाई धेरै हदसम्म यो एआई टुल्सले सहयोग गर्ने विश्वास प्रहरीले गरेको छ । अहिले तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्ने क्रममै रहेकाले यो टुल्सको नतिजा आउन भने अझै केही समय कुनुपर्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *