सर्लाही, ०५ भदाै । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले हालै चीन र भारतबीच लिपुलेक पासमार्फत सीमा व्यापार पुनः सुरु गर्ने सहमति प्रति कडा आपत्ति जनाउँदै उक्त निर्णय नेपालमाथिको हस्तक्षेप र सार्वभौमिकताको उल्लंघन भएको बताएको छ ।
पार्टीको केन्द्रीय समितिबाट भदौ ५ गते जारी विज्ञप्तिमा भनिएको छ, “चीनका विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भारतीय समकक्षी एस. जयशंकरसँगको वार्तापछि सार्वजनिक गरिएको संयुक्त सहमति पत्रको बुँदा नं. ९ मा लिपुलेक, सिप्कीला र नाथुला पासमार्फत व्यापारिक नाका खोल्ने निर्णय गरिएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।”
माओवादीले लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमिटर भित्र पर्ने भूमि भएको स्पष्ट उल्लेख गर्दै, भारत र चीनबीच नेपालको अनुमति विना हुने सहमति र कदमहरूलाई ‘हस्तक्षेपकारी’ र ‘अतिक्रमणकारी’ करार दिएको छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथि बारम्बार गिद्धेदृष्टि राख्ने कार्य हुँदै आएको छ । सन् २०१५ मा पनि यस्तै सहमति भएको थियो । तर नेपाल सरकार भने मौन बसिरहेको छ ।”
पार्टीले उक्त सहमतिका विरुद्ध कडा शब्दमा भण्डाफोर गर्दै, भारत र चीनलाई हस्तक्षेपकारी सहमति तत्काल खारेज गर्न र नेपाल सरकारलाई कुटनीतिक रूपमा तत्काल पहल लिन आग्रह गरेको छ ।
साथै पार्टीले नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा वर्षौंदेखि बसेको भारतीय सेना तत्काल फिर्ता हुनुपर्ने चेतावनी दिएको छ । सरकारको “उदासिनता, लाचारीपन, अक्रमण्यता र दलाली प्रवृत्ति” का कारण छिमेकी मुलुकहरूको मिचाहा प्रवृत्ति बढेको माओवादीको आरोप छ ।
विज्ञप्तिमा आम जनसमुदाय, युवाहरु र पार्टी कार्यकर्ताहरुलाई राष्ट्रियता र सार्वभौमिकताको रक्षाका लागि सशक्त प्रतिरोधमा उत्रन आह्वान गरिएको छ ।
संघर्षका कार्यक्रम स्वरूप भारतीय नम्बर प्लेटका सवारी साधनलाई नेपाल प्रवेशमा रोक लगाउने, भारतीय चलचित्र तथा च्यानल प्रसारणमा अवरोध पुर्याउने, साथै नेपालमा सञ्चालित भारतीय प्रोजेक्टहरूमाथि प्रतिबन्ध लगाउने उल्लेख गरिएको छ ।
पार्टीका महासचिवले हस्ताक्षरित उक्त विज्ञप्तिले नेपालको भूमि र राष्ट्रियताको विषयमा एकतावद्ध भई प्रतिरोधमा उत्रन सम्पूर्ण जनसमुदायलाई हार्दिक आव्हान गरेको छ ।