काठमाडौं, ०६ भदाै ।  । गाजामा आक्रमणबाट मारिएका छ मध्ये पाँच जना सर्वसाधारण रहेको इजरायली सेनाको गोप्य सैन्य गुप्तचर डाटावेशमा आधारित तथ्याङ्कले देखाएको छ । यो नरसंहार पछिल्ला दशकमा भएका युद्धहरूमध्ये अत्यधिक हो ।

युद्ध सुरु भएको १९ महिनापछि, गत मे महिनासम्म इजरायली गुप्तचर अधिकारीहरूले हमास र प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे) सहितका ८ हजार ९०० लडाकु मारिएका वा मारिएका हुनसक्ने भन्दै तथ्याङ्क संकलन गरेका थिए । द गार्डियन र अन्य केही सञ्चार माध्यमहरूको संयुक्त अनुसन्धानले यो तथ्य उजागर गरेको हो ।

यही समयमा गाजास्थित स्वास्थ्य अधिकारीहरूको अनुसार, इजरायली आक्रमणबाट कुल ५३ हजार प्यालेस्टिनी मारिएका छन्, जसमा लडाकु र नागरिक दुवै पर्छन् ।

सैन्य गुप्तचर डाटाबेसमा नामसहित सूचीकृत लडाकुहरू कुल मृतकको मात्र १७ प्रतिशत रहेका थिए। यसको अर्थ, ८३ प्रतिशत मृतकहरू सर्वसाधारण नागरिक हुन् ।

मृतकमध्ये नागरिकको यो अनुपात आधुनिक युद्धका हिसाबले अत्यधिक हो । सिरीया र सुडानका गृहयुद्ध जस्ता अन्धाधुन्ध हत्या भएका संघर्षहरूसँग तुलना गर्दा पनि यो अनुपात असामान्य देखिन्छ।

‘यति लामो समयसम्म जारी रहँदा पनि मारिएका मध्ये यति ठूलो अनुपात नागरिक हुनु असाधारण हो,’ उप्पसाला कन्फ्लिक्ट डाटा प्रोग्राम (यूसीडीपी) की थेरिज पिटरसनले भनिन्। उक्त संस्थाले विश्वभरका नागरिक मृत्युदर ट्र्याक गर्छ।

‘अन्य संघर्षका कुनै शहर वा विशेष लडाइँमा यस्तै अनुपात पाइन सकिन्छ, तर समग्रमा यस्तो देखिनु अत्यन्तै दुर्लभ हो,’ उनले भनिन् ।

यूसीडीपी का तथ्यांकअनुसार सन् १९८९ पछि विश्वभरका युद्धहरूमा नागरिक मृत्युदर यसभन्दा बढी भएको अवस्था केवल स्रेबरनिका (समग्र बोस्निया युद्धमा होइन), रुवाण्डा नरसंहार र सन् २०२२ मा रूसले मारीउपोललाई घेराबन्दी गर्दा मात्र देखिएको थियो।

केही इजरायली शैक्षिक समूह र अभियन्ता सहितका धेरै नरसंहारविद्, कानुनविद् र मानवअधिकार कार्यकर्ताहरू इजरायलले गाजामा नरसंहार गरिरहेको दाबी गर्छन्। उनीहरूले नागरिकहरूको सामूहिक हत्या र लादिएको भोकमरीलाई आधार बनाएर यो दाबी गरेका हुन् ।

यो तथ्याङ्कलाई अनुसन्धान गरिरहेका सञ्चार माध्यमको प्रश्नमा इजरायली सेनाले उक्त डाटाबेसको अस्तित्व वा हमास र पीआईजेका मृत्युसम्बन्धी तथ्यांकलाई अस्वीकार गरेन। तर द गार्डियन ले सोध्दा भने उनीहरूले आफ्नो प्रतिक्रिया ‘पुनरावलोकन गर्नुपर्ने’ निर्णय गरेको जवाफ दिए।

द गार्डियनलाई पठाइएको छोटो विज्ञप्तिले सैन्य गुप्तचर डाटाबेसबारे उठाइएका प्रश्नहरूलाई प्रत्यक्ष सम्बोधन गरेको थिएन।

इजरायली सेनाले भनेको छ, ‘लेखमा प्रस्तुत गरिएका तथ्यांकहरू गलत छन् ।’ तर उनीहरूले तथ्यांक विवादित हो भनेर भने खुलाएका छैनन् । इजरायली डिफेन्स फोर्स (आईडीएफ) ले ती आफ्नो प्रणालीमा उपलब्ध तथ्यांकसँग मेल नखाने पनि दाबी गरेको छ ।

एक प्रवक्ताले एउटै तथ्यांकसम्बन्धी प्रश्नमा फरक–फरक जवाफ किन दिइयो भन्नेबारे तत्काल प्रतिक्रिया दिएनन् ।

कालो धुँवाको मुस्लोबाट गुज्रिरहेका प्यालेस्टिनी । फोटो : एपी

डाटाबेसमा हमास र पीआईजेका सैन्य संरचनामा सक्रिय मानिएका ४७ हजार ६५३ प्यालेस्टिनीहरूको नाम समावेश छ। यो तथ्यांक गाजाबाट कब्जा गरिएका ती समूहका आन्तरिक कागजातहरूमा आधारित भएको बताइन्छ, तर द गार्डियन ले ती कागजातहरू प्रत्यक्ष हेरेको वा प्रमाणित नगरेको जनाएको छ ।

डाटाबेससँग परिचित धेरै गुप्तचर स्रोतहरूले सेनाले यसलाई लडाकुहरूको मृत्युबारे आधिकारिक मानक तथ्यांकका रूपमा लिएको बताएका छन्।

लोकल कल को रिपोर्टअनुसार, सेनाले गाजाको स्वास्थ्य मन्त्रालयद्वारा प्रकाशित मृत्युसंख्या पनि विश्वसनीय ठानेको छ। हालै सैन्य गुप्तचर प्रमुखसमेतले यसलाई उद्धृत गरेका थिए, यद्यपि इजरायली नेताहरूले नियमित रूपमा यसलाई ‘प्रचार’ भन्दै अस्वीकार गर्ने गरेका छन्।

तर दुवै डाटाबेसले वास्तविक मृत्युसंख्या कम देखाउने सम्भावना छ। गाजाको स्वास्थ्य मन्त्रालयले शव फेला परे मात्र मृतकको सूचीमा समावेश गर्छ, तर भग्नावशेषमुनि हजारौं अझै पुरिएका छन्।

त्यस्तै, इजरायली सैन्य गुप्तचरलाई सबै लडाकुहरूको मृत्यु वा नयाँ भर्तीबारे जानकारी हुँदैन। तर युद्ध योजनाका लागि इजरायली अधिकारीहरूले यी नै डाटाबेस प्रयोग गर्छन्।

इजरायली नेताहरू र जनरलहरूले कतिपय अवस्थामा लडाकु मृत्युसंख्या २० हजार भन्दा माथि पुगेको दाबी गरेका छन् । उनीहरूको दाबी रहने गरेको छ-  नागरिक–लडाकु मृतक अनुपात १:१ मात्रै छ ।

यी तथ्यांकमा हमाससँग सम्बन्धित नागरिकहरू, जस्तै सरकारी कर्मचारी वा प्रहरी पनि समेटिएका हुनसक्छन् । यद्यपि अन्तर्राष्ट्रिय कानुनले युद्धमा संलग्न नभएका व्यक्तिलाई लक्षित गर्न प्रतिबन्ध लगाएको छ। यसबाहेक, कतिपय अवस्थामा कुनै पनि हमाससँग सम्बन्ध नभएका प्यालेस्टिनीहरू पनि समावेश हुने सम्भावना छ।

इजरायलको दक्षिणी कमान्डले सैनिकहरूलाई गाजामा मारिएका व्यक्तिलाई कुनै पहिचान वा प्रमाणीकरण नगरी लडाकु मृतकको रूपमा रिपोर्ट गर्न अनुमति दिएको थियो।

‘मानिसहरूले मृत्यु पछि मात्रै आतङ्ककारी पदवी पाउँछन्,’  त्यहाँ फौजसँगै रहेका एक गुप्तचर स्रोतले भने । ‘यदि मैले ब्रिगेडको रिपोर्ट मात्र सुनेको भए, म यो निष्कर्षमा पुग्थेँ कि हामीले त्यहाँ हमासका २०० प्रतिशत लडाकु मारिसकेका छौँ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *