सर्लाही, ०६ भदाै । गुगलको बहुप्रतीक्षित ‘एआई मोड’ सर्च फिचर अब नेपालमा पनि उपलब्ध हुने भएको छ । यसअघि अमेरिका, बेलायत र भारतमा मात्र सीमित यो सुविधालाई गुगलले विस्तार गर्दै नेपालसहित विश्वका १८० देशमा उपलब्ध गराउन थालेको हो ।
यससँगै अब नेपाली प्रयोगकर्ताले पनि गुगलमा च्याटबटसँग कुराकानी गरे जस्तै गरी कुनै पनि विषयमा खोज्न सक्नेछन् । यद्यपि यो सुविधा हाल अङ्ग्रेजी भाषामा मात्र उपलब्ध छ । यो फिचर उपलब्ध भइसकेपछि गुगल सर्चबारमा ‘एआई मोड’ देखिन्छ । त्यही अप्सनमा ट्याप गरेपछि एउटा च्याटबटको इन्टरफेस खुल्छ ।

त्यसपछि तपाईंले जे विषय खोज्नुभयो त्यसको विस्तृत जानकारी बायाँपट्टि देखिन्छ भने त्यसको स्रोत दायाँपट्टि देखिन्छ ।
यदि तपाईंलाई थप जानकारी चाहियो भने ‘आस्क एनिथिङ’ (Ask Anything) लेखेको च्याटबक्समा प्रश्न सोध्न सक्नुहुन्छ । त्यसपछि एआईले त्यहीँ थप जानाकरी दिनेछ । एआई मोड प्रयोग गरिरहँदा तपाईंलाई पहिलको जस्तै गुगल सर्च प्रयोग गर्नुपर्ने भयो भने माथि रहेको अल, न्युज, इमेज, भिडिओ लगायतका अप्सन छान्न सक्नुहुन्छ ।
एआई मोडलाई विश्वव्यापी बनाउने अभियान अन्तर्गत नै गुगलले यसलाई थप प्रस्कृत बनाउन खोजेको छ । त्यसका लागि कम्पनी नयाँ एजेन्टिक सुविधा थप्ने प्रक्रिया अगाडि बढाएको छ । सुरुवाती चरणमा यस फिचरले प्रयोगकर्तालाई उनीहरूलाई अनुकूल हुने रेस्टुरेन्ट खोज्न सघाउनेछ । तर, यो फिचर भने गुगलको एआई अल्ट्रा सब्स्क्राइबरले प्रयोग गर्न पाउनेछन् ।
यो फिचर उपलब्ध हुने क्रममा छ । फिचर उपलब्ध भए नभएको थाहा पाउन गुगल सर्च बारमा ‘AI Mode’ सर्च गर्नुहोस् ।
त्यसपछि त्यहाँ देखिएको टर्न अन (Turn On) बटनमा क्लिक गर्नुहोस् । उपलब्ध भएको खण्डमा अर्को पटक गुगल सर्च गर्दा तपाईंले सर्च बारमा एआई मोड देख्न सक्नुहुन्छ ।