सर्लाही, ०६ भदाै । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

२०५६ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको हस्ताक्षरबाट पार्टी सदस्यता लिएपछि निरन्तर पार्टी र मुलुकको सेवामा सक्रिय रहेर काम गर्दै आएका सिंहले दुई कार्यकाल उपसभापति र २०७८ साल फाल्गुण २९ गतेदेखि जिल्ला सभापतिको जिम्मेवारी बहन गर्दै आएका थिए । तर हालै आफ्ना विरुद्ध दायर भएको मुद्दामा सम्मानित अदालतले गरेको निर्णयपछि सभापतिको पदमा निरन्तर रहने अवस्था नरहेको भन्दै उनले पदबाट राजीनामा दिएका हुन् ।

अदालतको आदेशलाई स्वीकार गर्ने भए पनि आफूलाई अन्याय भएको ठहर गर्दै उनले कानुनी तथा राजनीतिक लडाइ भने जारी राख्ने बताएका छन् ।

राजीनामा पत्रमार्फत सिंहले नेपाली कांग्रेसप्रतिको आफ्नो निष्ठा अविचलित रहने उल्लेख गर्दै अब आधिकारिक जिम्मेवारीमा नरहे पनि पार्टीको बृहत्तर हित, लोकतन्त्रको रक्षा र पार्टीका आदर्शका लागि निरन्तर काम गर्ने अठोट व्यक्त गरेका छन् ।

उक्त निर्णयसँगै नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाही सभापति पद रिक्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *