सर्लाही, ०७ साउन । मधेश प्रदेशमा पूर्वपश्चिम राजमार्गदेखि दक्षिणमा वृक्षारोपण पनि तिव्रदरमा भइरहेको छ ।
यसका लागि एक नागरिक एक बिरुवा अभियानअन्तर्गत सरकारले एक वर्षभित्र विभिन्न प्रजातिका ७८ लाख बिरूवा उत्पादन गरी वितरण गरेको छ । यो प्रयासले सबैभन्दा कम वनजंगल रहेको मधेशमा १४ वर्षभित्र झन्डै ९ प्रतिशत वन वृद्धि भएको हो ।
धनुषा जिल्लाको क्षेत्रफल ११ सय ८० वर्गकिलोमिटर छ । जसमध्ये २७ हजार ५ सय ७८ हेक्टर वनले ओगटेको छ । यो कुल क्षेत्रफलको २३ प्रतिशत हो । धनुषामा यस वर्ष ३ सय ७५ हेक्टरमा निजी स्तरमा वन वृद्धि गर्ने लक्ष्यसहित विभिन्न प्रजातिका ६ लाख बिरूवा उत्पादन गरी किसानलाई वितरण गरिएको छ ।
डिभिजन र सबडिभिजन वन कार्यालय र स्थानीय सरकारहरूको साझेदारीमा नर्सरी स्थापना गरी गत वर्ष ७५ लाखभन्दा बढी बिरूवा उत्पादन भएको मधेश प्रदेश वन निर्देशनालयले जनाएको छ ।
प्रदेशलाई हराभरा बनाउनुका साथै किसानको आयआर्जनमा बढाउने लक्ष्यसहित मलेसियन सखुवा, टिक, सिसम, अमला, अर्जुन, कटहल, सिरिठ, सजिवनलगायत विभिन्न प्रजातिका बिरूवा उत्पादन र वृक्षारोपणमा जोड दिइएको छ ।
एक वर्षेमा १० देखि १५ रूपैयाँ र दुई वर्षेमा २२ रुपैयाँसम्म प्रतिबिरूवा उत्पादनमा संघ र प्रदेश सरकारले लगानी गर्दै आएको छ । बाक्लो जनघनत्व रहेको मधेश प्रदेशमा घट्दै गएको पानीको सतह, बढ्दो सुक्खाखडेरी र तापक्रम नियन्त्रणका लागि प्रदेश सरकारले तीन वर्षदेखि एक नागरिक एक बिरूवा अभियान नै चलाएको छ ।
चुरे पहाडदेखि भारतीय सीमासम्म मधेश प्रदेशका आठै जिल्लामा सन २०१०-०११ मा २ लाख ६३ हजार ६ सय ४० हेक्टर रहेको वन क्षेत्र अहिले वृद्धि भई झन्डै २ लाख ८६ हजार ६ सय ११ हेक्टर पुगेको छ । जसमध्ये सबैभन्दा बढी पर्सा र कोशी टप्पु क्षेत्रमा ८८ हजार ५ सय ४३ हेक्टर वन छ भने सामुदायिक वन ८७ हजार १ सय २४ र सरकारद्वारा व्यवस्थित ५० हजार १ सय ७७ हेक्टर वन छ ।
यसैगरि साझेदारी वन ४६ हजार १ सय १६, सागरनाथ वन परियोजना १३ हजार १ सय १४, बल्क फरेष्ट १ हजार ५०, संरक्षित वन ३ सय ६०, कवुलियत वन २ सय ३६ र धार्मिक वन ८७ हेक्टर रहेको छ । यसरी हेर्दा सरकार र नागरिकको संयुक्त प्रयासमा १४ वर्षमा मधेशमा ८ दशमलव ७९ प्रतिशत वन वृद्धि भएको छ ।