सर्लाही, ०७ भदाै । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण नहुने स्पष्ट पार्नुभएको छ ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पार्टी सदस्यता परित्याग गरेर भण्डारी राष्ट्रपति हुन गएकाले परित्याग गरेको सदस्यता नवीकरण नहुने स्पष्ट पार्नुभएको हो । आफुले भण्डारीको पार्टी सदस्यता खोस्यो भन्ने आरोपमा सत्यता नरहेको उहाले बताउनुभयो ।
पार्टी सदस्यता नविकरणका लागि रसिद समेत काटेको भण्डारीको दावी प्रति अध्यक्ष ओलीले कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा नवीकरण नहुने टिप्पणी गर्नुभयो । पूर्वराष्ट्रपति भण्डारीले चुनाव हारेकाहरुलाई भेला गरेर जमात खडा गर्दै हिँडेको उहाको भनाइ छ ।
उहाले दुई पटक राष्ट्रपति भइसकेको व्यक्तिले पार्टीमा यस्तो समस्या खडा गर्नुहुन्छ भन्ने आफूले कल्पना समेत नगरेको जिकिर गर्नुभयो ।
ओलीले मदन भण्डारीको अर्को वर्षको जन्मदिन मनाउन अहिलेदेखि कार्यालय खोल्दै पार्टीविरुद्ध भेला गरेर बसेको देखिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार देश बिकासको बाटोमा अघि बढिरहेको बताउनुभयो । उहाले पार्टीमा प्रवेश गरेकाहरुलाई कुनै न कुनै जिम्मेवारी दिने बताउनुभयो ।
कार्यक्रममा ओलीले आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहसहित विभिन्न नेता कार्यकर्तालाई एमाले पार्टी प्रवेश गराउनुभएको थियो ।