सर्लाही, ०७ भदाै । रौतहटको बृन्दावन नगरपालिका–६ हर्साहा टोल मंगलबार बेलुकी तनावग्रस्त बन्यो । सामान्य विवादले सुरु भएको वादविवाद एक्कासी झडपमा परिणत भयो र स्थानीय २५ वर्षीय नितेश पटेल गम्भीर घाइते भए ।

नितेशका बुबा जयकुमार पटेलका अनुसार, केही व्यक्तिहरू पुरानो रिसभि साध्ने नियतले घरमै पसेर गाली–गलौज गर्दै अशान्ति मच्चाउन खोजेका थिए । सो क्रममा बुझ्न पुगेका छोरा नितेशमाथि आक्रमण भएको हो ।

आक्रमणमा संलग्नमध्ये सर्लाहीको बरहथवा इलाका प्रहरी कार्यालयअन्तर्गत प्रहरी चौकी भगवानपुरमा कार्यरत प्रहरी हवल्दार प्रमोद राउत कुर्मीले समेत प्रहरीको धाक देखाउँदै हातपात गरेको आरोप लगाइएको छ ।

घाइते नितेशले भने, “मैले सोधें, तपाईं सर्लाहीमा कार्यरत हुनुहुन्छ, यहाँको प्रहरी चौकीले मात्र छानबिन गर्न सक्छ । त्यति भन्नासाथ उनले बाँसले प्रहार गरेर मेरो टाउको फुटाइदिए ।”

टाउकोमा गम्भीर चोट लागेका नितेशलाई तत्काल उपचारका लागि वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल भर्ना गरिएको छ । चिकित्सकहरूले उनको अवस्था गम्भीर रहेको जनाएका छन् ।

स्थानीयवासीले घटनापछि पनि हवल्दार कुर्मीले प्रहरीको नाम दुरुपयोग गर्दै सोही दिन आफ्नो कार्यस्थल फर्किएको आरोप लगाएका छन् । प्रहरीकै जिम्मेवारी वहन गर्ने पदमा रहेर आचरण विपरीत कार्य गरेको भन्दै उनीहरू आक्रोशित बनेका छन् ।

पीडित परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न माग गरेका छन् ।

यसैबीच, इलाका प्रहरी कार्यालय बरहथवाका एक अधिकारीले हवल्दार कुर्मी बिदामा रहेको जानकारी दिए । यता, इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख नायब उपरीक्षक (प्र.ना.उ.) राजन कार्कीले भने, “घटनाबारे जानकारी आएको छैन, हामी बुझ्दैछौं । पीडितले न्याय पाउनुपर्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *