काठमाण्डाैं, ०८ भदाै । भारत सरकारले वायुसेना र नौसेनाको शक्ति बढाउन दुई ठुला सम्झौता गर्ने भएको छ । पहिलो सम्झौतामा रक्षा मन्त्रालय र माजागन डकयार्ड्स लिमिटेड (एमडीएल) ले जर्मनीबाट ६ वटा पनडुब्बी किन्ने भएका छन् ।

सरकारले ‘प्रोजेक्ट ७५ इन्डिया’ अन्तर्गत भारतमा बनाइने यी पनडुब्बीहरू खरिदका लागि वार्ता सुरु गर्न स्वीकृति दिएको हो । यो सम्झौता ७० हजार करोड भारतीय रुपैयाँमा हुने बताइएको छ ।

यसैबिच, भारत सरकारले इजरायली र्‍याम्पेज एयर-टु-ग्राउन्ड मिसाइलहरूको ठुलो खेप किन्न लागेको छ। स्रोतका अनुसार, यो आदेश चाँडै नै फास्ट-ट्र्याक प्रक्रिया अन्तर्गत दिइनेछ ।

यसअघि, पाकिस्तानको मुरिदके र बहावलपुरमा रहेको आतंकवादी मुख्यालयमा सटीक आक्रमणमा र्‍याम्पेज मिसाइलहरू प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

रक्षा मन्त्रालयले जनवरीमा जर्मन कम्पनी थाइसेनक्रुप मरिन सिस्टम्ससँग मिलेर एयर इन्डिपेन्डेन्ट प्रोपल्सन सिस्टम भएका छ वटा पनडुब्बीहरू निर्माण गर्न माजागन डकयार्डस्लाई आफ्नो साझेदारको रूपमा छनोट गरेको थियो। रक्षा अधिकारीहरूले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार रक्षा मन्त्रालय र एमडीएल बिच यस महिनाको अन्त्यसम्ममा प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ ।

रक्षा मन्त्रालय र भारतीय नौसेना आगामी ६ महिनामा सम्झौता वार्ता पूरा गर्ने र अन्तिम स्वीकृति पाउने आशामा छन् । रक्षा मन्त्रालयको उद्देश्य देशमा परम्परागत पनडुब्बीहरूको डिजाइन र निर्माणको लागि स्वदेशी क्षमता विकास गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *