सर्लाही, ०८ भदाै । वीरगञ्जमा हैजा प्रकोपबाट दुई जनाको मृत्यु भएको छ । अन्य दुई सय जनामा सङ्क्रमण पुष्टि भएको छ । संक्रमितको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार मृतकमा हैजाको लक्षण देखिए पनि झाडापखालाबाट मृत्यु भएको पाइएको छ । मृतक वीरगञ्ज महानगरपालिका–१२ का ३५ वर्र्षीय महिला र पोखरीया नगरपालिका– १ शिवबरवाका एक पुरुष रहेका छन् । मृतकको पहिचान खुलाइएको छैन ।
शुक्रबार वीरगञ्ज महानगरपालिका–१२ र्मुली नयाँ टोलका बासिन्दामा हैजा संक्रमण देखिएको थियो । शनिबारसम्म वडा नम्बर १२, १३ र १६ मा हैजाको लक्षण तीव्ररुपमा देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिनुभयो ।
हैजाको सङ्क्रमण समुदाय स्तरमा फैलिएपछि वीरगञ्ज महानगरपालिकाले अस्पतालका प्रमुखसँग छलफल तथा समन्वय गरेर ठोस नीति बनाएर २४ वटा टिम गठन गरी तीव्ररुपमा काम भइरहेको नगर प्रमुख राजेशमान सिंहले बताउनुभयो । उहाँले हैजाको लक्षण जनस्तरमा देखिएपछि आइतबार र सोमबारसम्मका लागि निजी तथा सामुदायिक विद्यालय बन्द गरिएको जानकारी दिनुभयो ।