सर्लाही, ०८ भदाै । गुगल ड्राइभले अब प्रयोगकर्तालाई भिडिओ एडिट गर्ने सुविधा पनि उपलब्ध गराएको छ । यो सुविधासँगै प्रयोगकर्ताले कुनै पनि भिडिओ फाइल डाउनलोड नगरी सोझै ड्राइभमै ट्रिम (trim), म्युजिक वा अतिरिक्त टेक्स्ट जस्ता सामग्री थपेर एडिट गर्न सक्ने भएका छन् ।
गुगलले आफ्नो ‘वर्कस्पेस अपडेट्स’ मार्फत यो नयाँ सुविधा सुरु गरेको हो । यसअघि गुगल ड्राइभमा भिडिओसम्बन्धी अटोमेटिक क्याप्सन, नयाँ भिजुअल डिजाइन, अपलोड भएपछि तत्कालै प्लेब्याक, समय अनुसार ट्रान्सक्रिप्ट र युट्युब जस्तै थम्बनेल प्रिभ्यू लगायतका सुविधा थिए ।
अब भिडिओ फाइल प्रिभ्यू गर्दा माथिल्लो दायाँ कुनामा बैजनी रङको गुगल भिड्स (Google Vids) आइकन देखिनेछ । त्यसमा क्लिक गरेपछि भिडिओ सोझै गुगल भिड्समा खुल्नेछ भने त्यहाँ एडिट गर्न सकिन्छ ।
तर, यसमा केही सीमा तोकिएका छन् । यो सुविधा MP4, Quicktime, OGG र WebM फाइल फर्म्याटमा मात्र काम गर्नेछ । भिडिओ फाइलको लम्बाइ ३५ मिनेटभन्दा बढी र साइज ४ जीबीभन्दा ठुलो भएमा एडिट गर्न सकिँदैन । एडिटपछि नयाँ भिड्स फाइल बन्ने भएकाले अलग्गै सेभ वा एक्सपोर्ट गर्नुपर्नेछ ।
हाल यो सुविधा डेस्कटप प्रयोगकर्ताका लागि मात्र उपलब्ध छ । गुगल क्रोम, फायरफक्स, माइक्रोसफ्ट एज (विन्डोजमा) मा पूर्ण रूपमा काम गर्नेछ भने अन्य ब्राउजरमा सीमित रूपमा प्रयोग गर्न सकिन्छ ।
गुगलका अनुसार यो सुविधा वर्कस्पेसका विभिन्न संस्करणमा क्रमशः लागु हुँदैछ । यसअन्तर्गत बिजनेस स्टार्टर, स्ट्यान्डर्ड र प्लस, इन्टरप्राइज स्टार्टर, स्ट्यान्डर्ड र प्लस, एसेन्शियल्स, इन्टरप्राइज एसेन्शियल्स, गैर-नाफामुखी संस्था, जेमिनाई एजुकेसन तथा एजुकेसन प्रिमियमका साथै गुगल एआई प्रो र अल्ट्रा मेम्बरशिप लिने प्रयोगकर्ताहरू समावेश छन् ।