सर्लाही, ०८ भदाै । मधेस प्रदेशका विभिन्न पालिकामा कृषक र पशुपालकलाई लक्षित गर्दै आधुनिक कृषि तथा पशुपक्षी उपचार केन्द्र निर्माण भइरहेको छ । १३६ पालिकामध्ये हाल २५ वटामा करिब ७५ करोड रुपैयाँको लागतमा भूकम्प प्रतिरोधात्मक, अत्याधुनिक सुविधा सम्पन्न भवन निर्माण कार्य अघि बढेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ ।
विश्वबैंकको ऋण सहयोगमा सञ्चालित ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (READ) अन्तर्गत बर्दिबासस्थित आयोजनाको आर्थिक करिडोर कार्यालयमार्फत भवन निर्माण भइरहेको हो । प्रत्येक भवन निर्माणमा करिब तीनदेखि पाँच करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरिएको छ ।
आयोजना कार्यालय प्रमुख राजेश साहका अनुसार यी केन्द्रहरूमा माटो परीक्षण, पशुमा देखिने रोगहरूको अनुसन्धान, गोबर तथा दूधजन्य पदार्थ परीक्षणसहित उपचार सेवा उपलब्ध हुनेछ । आवश्यक प्रयोगशाला र अत्याधुनिक उपकरणसहित केन्द्रलाई पूर्ण सुविधायुक्त बनाइने उनले बताए ।
दुई तले संरचनामा कृषि र पशुपक्षी उपचारका लागि छुट्टाछुट्टै कार्यकक्ष तथा प्रयोगशाला रहनेछन् । साथै, सुपथमूल्यमा उपचार सेवासँगै औषधि बिक्री कक्षका लागि दुई वटा सटरसमेत रहने व्यवस्था गरिएको छ । २५ पालिकामध्ये हालसम्म १४ वटा भवनको काम पूरा भइसकेको कार्यालयले जानकारी दिएको छ ।
यस क्रममा जनकपुरधाम उपमहानगरपालिका–१७ तेतरियामा बनेको सुविधा सम्पन्न भवन उपमहानगर प्रमुख मनोजकुमार साहलाई औपचारिक रूपमा हस्तान्तरण पनि गरिएको छ । दुई करोड २५ लाख रुपैयाँ लागतमा बनेको उक्त भवन अब कृषक र पशुपालकलाई सेवा दिन सुरु गर्ने तयारी भएको जनाइएको छ ।