सर्लाही, ०८ भदाै । यो वर्ष धान खेती गर्न योग्य जमिनमध्ये ९५ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । 

साउनको मध्यसम्म पनि ७८ प्रतिशत जग्गामा मात्र रोपाइ भएकोमा त्यसपछिका दिनमा सुधार भएको देखिएको हो ।

कृषि विभागका अनुसार अहिलेसम्म १२ लाख ९५ हजार ८८७ हेक्टर जमिनमा धान रोपाइँ भएको छ । सरकारले १३ लाख ७६ हजार ४६६ हेक्टर जग्गा धान खेतीका लागि योग्य भएको उल्लेख गरेको छ ।

यो वर्ष धान रोपाइँमा ढिलाइ भएको छ। विशेषगरी तराइँमा असारमा मनसुन नभएको कारण रोपाइँमा ढिलाइ भएको हो ।
असार मसान्तसम्म ८ लाख १६ हजार हेक्टर अर्थात् ५९ प्रतिशत जग्गामा धान रोपाइँभएको थियो ।

गत वर्ष असार मसान्तसम्म ६७ प्रतिशत जग्गामा धान रोपाइँ भएको थियो । भदौसम्म आइपुग्दा गत वर्ष ९८ प्रतिशत जग्गामा रोपाइँ भएकोमा अहिले ९५ प्रतिशतमा खुम्चिएको छ ।

विभागका अनुसार हालसम्म कोशी प्रदेशमा दुई लाख ६० हजार ९६४ हेक्टर, मधेश प्रदेशमा तीन लाख १९ हजार ६२६, बागमती प्रदेशमा एक लाख १२ हजार ४५९ हेक्टर जमिनमा रोपाइँ भएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा ८९ हजार ३११, लुम्बिनी प्रदेशमा २ लाख ९७ हजार १०३, कर्णाली प्रदेशमा ४० हजार ७७० र सुदूरपश्चिम प्रदेशमा एक लाख ७५ हजार ६५२ हेक्टर जमिनमा रोपाइँ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *