सर्लाही, ०८ भदाै । संसदीय समितिबाट पारित भूमि विधेयक र गौर घटनाको पुनः छानबिन गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध जनता समाजवादी पार्टी, नेपालले जनकपुरधामसहित मधेश प्रदेशमा प्रदर्शन गरेको छ ।
भूमि विधेयक ल्याएर सरकारले मधेशलाई मरभूमि बनाउन खोजेको तथा १९ वर्षपछि पुरानो गौर हत्याकाण्डको छानबिनको लागि सर्वोच्च अदालतबाट आएको परमादेश षडयन्त्रपूर्ण रहेको भन्दै जसपा नेपालले विरोध प्रदर्शन गरेको हो ।
अदालतको आदेशलाई राजनीतिक प्रतिशोध र मधेस आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्रका रूपमा व्याख्या गर्दै जसपाले आइतबार जनकपुरधामको जनक चोक, वीरगञ्जको घण्टाघर, सप्तरीको राजविराजसहितमा नाराबाजीसहित विरोध प्रदर्शन गरेको हो ।
विरोध प्रदर्शनमा सहभागी जसपाका कार्यकर्ताहरूले ‘उपेन्द्र यादवमाथि षड्यन्त्र बन्द गर्’, भूमि विधेयक फिर्ता गर्’, ‘मधेस आन्दोलनको अपमान बन्द गर्’जस्ता नारा लगाएका थिए । ७ चैत २०६३ मा रौतहटको गौरमा २७ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको छानबिन गर्न सर्वोच्च अदालतले हालै मात्र परमादेश जारी गरेको छ ।
जसपाका नेताहरूले सर्वोच्च अदालतले जारी गरेको परमादेशलाई मधेस आन्दोलनका उपलब्धिमाथि प्रहार र पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजनीतिक रूपमा कमजोर बनाउने प्रयास भनेका छन् ।