सर्लाही, ०८ भदाै । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले लिपुलेक क्षेत्रसहित नेपालको सीमा क्षेत्रमा अनिवार्य रूपमा नेपाली सेना परिचालन गर्न माग गरेको छ । पार्टीका महासचिव गौरवद्वारा हस्ताक्षरित एक प्रेस विज्ञप्तिमा हालै भारत र चीनबीच लिपुलेक नाका सुचारु गर्ने समझदारीप्रति गम्भीर आपत्ति जनाइएको छ ।
विज्ञप्तिमा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको ऐतिहासिक र कानुनी रूपमा अभिन्न अंग भएको उल्लेख गर्दै भारतले विगत केही समयदेखि ती क्षेत्रहरूमा अतिक्रमण गर्दै आएको आरोप लगाइएको छ । माओवादीले सरकारलाई सो क्षेत्रको रक्षा गर्न कूटनीतिक तथा सुरक्षात्मक पहल गर्न आग्रह गरेको छ ।
“नेपाल सरकारको कमजोरीका कारण मुलुकको सार्वभौमसत्ता र भू-भागमाथि गम्भीर आघात पुगेको छ । भारत र चीनबीचको पछिल्लो समझदारी नेपालको स्वाधीनतामाथि अवहेलना हो,” विज्ञप्तिमा भनिएको छ ।
पार्टीले चेतावनी स्वरूप भनेको छ, “यदि सरकारले लिपुलेक क्षेत्रमा नेपाली सेना खटाएर नेपालको भूमि रक्षा गर्न तत्परता देखाएन भने, नेकपा (माओवादी) ले जनमुक्ति सेना परिचालन गरेर आफनो भूमिको रक्षा गर्नेछ ।”
यससँगै पार्टीले सर्वसाधारणलाई राष्ट्रियताको रक्षा र संवेदनशीलताको मुद्दामा सचेत रहन आह्वान गरेको छ ।