सर्लाही, ०९ भदाै । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिकाका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४५ जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ ।

वीरगञ्जको नारायणी अस्पतालमा ३२, तराई अस्पतालमा ८, नेशनल मेडिकल कलेजमा ६, एडभान्स अस्पतालमा ५, अलिअर्थो सेन्टरमा २ र भवानी अस्पतालमा २ जना बिरामीको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले जानकारी दिनुभयाे ।

अहिले अस्पतालमा हैजाका नयाँ बिरामी भर्नादर घट्दै गएकाे छ । वीरगञ्जका विभिन्न अस्पतालमा झाडापखाला र हैजाका शङ्कास्पद उपचाररत बिरामीको सङ्ख्या बिस्तारै घट्दै गएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले बताउनुभयाे ।

यसअघि हिजो नारायणी अस्पतालमा ७३, तराई अस्पतालमा ५० र अन्य अस्पतालहरूमा पनि बिरामीको सङ्ख्या अत्यधिक थियो ।

गएको साउन २४ गते वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ बाट झाडापखालाका बिरामीहरू देखा पर्न थालेका हुन् । गएको बिहीवारदेखि वडा १२ नम्बरसँगै ११, १३, १४ र १६ सम्मका झाडापखालाका बिरामीहरू अस्पतालमा भर्ना हुनेको चाप बढेकाे थियाे ।

वीरगञ्ज महानगरपालिकाका ५ वटै वडामा देखिएको हैजाको मुख्य कारण पानी नै हुनसक्ने प्रारम्भिक अनुमान छ । १२ नम्बर वडाबाट फैलिएको झाडापखालाका बिरामीलाई हैजा भएको हो/होइन भनेर प्रारम्भिक परिक्षणमात्रै भएको र विस्तृत अध्ययनको नतिजा आउन अझै केही दिन लाग्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विनोद झाले बताउनुभयाे । मुख्य के कारणले हैजा भएको हो भनेर पत्ता लगाउनका लागि कल्चरको रिपोर्ट नै पर्खनुपर्ने पनि उहाँले जानकारी दिनुभयाे ।

महामारी फैलन नदिन घरघरको पानी परीक्षण कार्य शुरू भएको छ । घरघरको पानीको अवस्था के छ पहिचानका लागि जनचेतना अभिवृद्धिका काम पनि हुँदैछ । ‘पानी उमालेर वा पियुष मिसाएर शुद्धीकरण गरेर मात्रै खान भनेका छाैँ । जनचेतना फैलाउनका लागि महानगरसँग मिलेर घरघरमा ब्रुसर बाँड्ने काम पनि जिल्ला स्वास्थ्य कार्यालयले गरिरहेको छ’, झाले भन्नुभयाे ।

प्रकोप फैलन नदिनका लागि वीरगञ्ज महानगरपालिकाले पनि हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण तथा शुद्धीकरणको काम शुरू गरेको छ । पालिकाले कुन मुहानबाट पानी खराब भएको हो भनेर पहिचानका लागि काम शुरू गरेकाे छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको टोलीले मोबाइल भ्यानसहित पानी परीक्षणको कार्य अगाडि बढाएको वीरगञ्ज महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमन चन्द ठाकुरले जानकारी दिनुभयाे ।

झाडापखालाको प्रकोप फैलिएमा नारायणी अस्पतालमा आईसीयूसहितको ५० शय्या क्षमता भएको २ वटा वार्ड छुट्याइएको छ । नेशनल मेडिकल कलेजलाई समेत ‘अलर्ट’ मा राखिएको छ । साथै प्रदेशअन्तर्गतका १ सय र २ सय शय्याका अस्पतालमा १० प्रतिशत शय्या आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *