सर्लाही, ०९ भदाै । रौतहटको गौरमा शनिबार राति साढे १० बजे सुटकेसभित्र एक महिलाको शव भेटियो । गौर नगरपालिका-९ मुडवालगेटस्थित सडकमा भेटिएको सुटकेशमा सल र डोरीले घाँटी बेरिएको अवस्थामा महिलाको शव रहेको थियो ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार मृतक रौटहटकै माधवनारायण नगरपालिका-२ माधवपुर माइत भएकी २६ वर्षीया रुवीकुमारी साह हुन् । भारतको मुजफरपुर घर भएकी रुवी माधवपट्टीमा एक महिनादेखि डेरा गरी बस्दै आएकी थिइन् ।
‘प्रारम्भिक अनुसन्धानमा उनी रुवीकुमारी साह रहेको खुलेको छ । मृतकको घर भारतको मुजफ्फरपुर हो । घटनाको प्रकृतिले उनको हत्या भएको हाम्रो आशंका छ । श्रीमान् पनि सम्पर्कमा आइसकेका छन्,’ डीएसपी कार्कीले भने ।
उनका अनुसार मृतक रुवीका चार वर्षीय एक छोरा छन् । श्रीमान्कै सहमतिमा उनी छोरालाई पढाउन महादेवपट्टीमा डेरा लिएर बस्न थालेकी थिइन् ।
४ भदौमा मात्र गौर नगरपालिका-५ गौरीशंकर कलेज अगाडि एक युवकको छुरा प्रहार गरी हत्या भएको थियो । रौतहटकै यमुनामाई गाउँपालिकाका २१ वर्षीय सदाबुद्दिन मियाँको छुरा प्रहार गरी हत्या भएको हो ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार दिउँसो २:४० बजे मियाँमाथि छुरा प्रहार भएको थियो । गम्भीर घाइते अवस्थामा उपचारको लागि प्रादेशिक अस्पताल गौर लैजाँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनास्थलबाट छुरा प्रहार गरेको आरोपमा गौर नगरपालिका-३ का युवक मनोज रामलाई प्रहरीले पक्राउ गरेको थियो । घटनाको प्रारम्भिक अनुसन्धानले उनीहरूबीच गाँजा सेवनको क्रममा विवाद भएको थियो ।
‘गाँजा सेवन गर्दा दुवैजनाबीच विवाद भएको थियो । त्यस क्रममा छुरा प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ उनले भने ।
गत २९ साउन राति साढे ८ बजेतिर सर्लाहीको हरिपूर्वा नगरपालिका–६ का शिक्षक रामपुकार यादवको आफ्नै घर अगाडि टाउकोमा गोली प्रहार भयो । मोटरसाइकलमा हतियारसहित आएका दुईजनामध्ये पछाडि बस्नेले उनको टाउकोमा गोली प्रहार गरेको थियो । उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो ।
सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार गोली प्रहार गरेर भाग्ने क्रममा बी.आर.३०ए.जी. २३५४ नम्बरको मोटरसाइकल दुर्घटना भयो । चालक हरिपुर्वा नगरपालिका-५ का २६ वर्षीय धर्मेन्द्र भन्ने धीरेन्द्र राय घाइते अवस्थामा पक्राउ परे ।
उनलाई प्रारम्भिक उपचार मोडेल अस्पताल लालबन्दी अनि थप उपचार प्रादेशिक अस्पताल जनकपुरमा गरियो । डिस्चार्ज भएपछि दिएको बयानअनुसार रामपुकारका छोरा सुमितसँग केहीअघि धीरेन्द्रको विवाद भएको थियो ।
एक प्रहरी अधिकारीका अनुसार धीरेन्द्रले सुमितलाई नै हत्या गर्ने योजना बनाएर त्यहाँ पुगेका थिए । तर रामपुकार अगाडि आएपछि उनैको हत्या गरे ।
त्यसअघि धीरेन्द्र १० असोज २०८१ राति आफ्नै श्रीमती चित्रलेखाकुमारी यादवको गोली प्रहार गरी हत्या र बुवा रामदिनेश यादवलाई घाइते बनाएर फरार थिए । पछिल्लो समय उनी मलंगवा नगरपालिका–९ स्थित सुशील साहको घरमा बस्दै आएको खुलेको छ ।
सिरहाको धनगढीमाई नगरपालिका-११ आमचौकका ८५ वर्षीय फनिलाल यादवको १४ साउन बिहान सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भयो । प्रहरीले अनुसन्धान गर्दै जाँदा धनगढीमाई नगरपालिका-२ भवानीपुर टोलका ३३ वर्षीय महेश चौधरी र १९ वर्षीय प्रशान्तकुमार मण्डललाई पक्राउ गर्यो ।
सिरहाका प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेका महेश र प्रशान्त लागुऔषध सेवनकर्ता हुन् ।
सोही राति अचानक चोरी गर्ने योजना बनाएर उनीहरू फनिलालको घरमा प्रवेश गरेका थिए । ढोका खुला देखेर भित्र पसेपछि यादवले हो-हल्ला गरे । खुकुरी बोकेका महेशले फनिलालको टाउकोमा प्रहार गरी फरार भएको अनुसन्धानबाट खुल्यो ।
गत ४ साउन बिहान जनकपुरधाम उपमहानगरपालिका-२३ को होटल एसपी एन्ड गेस्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेर २८ वर्षीय शनि भनिने विमलेश यादवको हत्या भयो ।
महोत्तरीको महोत्तरी गाउँपालिका-१ पर्साका विमलेशको हत्या आरोपमा महोत्तरी बलवा नगरपालिका–७ बनौटाकी २४ वर्षीया जुली झालाई धनुषा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।
प्रहरी अनुसन्धानका क्रममा उनीहरूबीच यौन सम्बन्ध रहँदै आएको खुलेको थियो । जुलीले आफूलाई ब्ल्याकमेल गरेर पटकपटक यौन शोषण गरेका विमलेशमाथि छुरा प्रहार गरेको बयान दिएकी थिइन् ।
यी पछिल्लो एक महिनायता मधेश प्रदेशमा भएका शृङ्खलाबद्ध हत्याका घटना हुन् । साउनमा मात्र मधेश प्रदेशमा ९ जनाको हत्या भएको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।
गत आर्थिक वर्ष २०८१/०८२ मा मधेश प्रदेशमा ९९ जनाको हत्या भएको छ । जसमा ५३ जना पुरुष र ३६ जना महिला छन् । यस्तै ५ जना बालक र ६ बालिका रहेको मधेश प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ ।
सबभन्दा बढी धनुषामा १७ जना, सर्लाहीमा १४ जना, महोत्तरीमा १३ जना, सप्तरी र बारामा १२-१२ जना, रौतहटमा ११ जना, सिरहा र पर्सामा १०-१० जनाको हत्या भएको तथ्यांक छ । हत्या हुनेमा १८ देखि ४५ वर्ष उमेरसम्मका आधाभन्दा बढी ६३ जना छन् ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/०८१ मा मधेशमा १२७ जना र आ.व. २०७९/०८० मा १०९ जनाको हत्या भएको थियो ।