सर्लाही, ०९ भदाै । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक स्थगित भएको छ । सभापति शेरबहादुर देउवा निवासमा बोलाइएको बैठक स्थगित भएको हो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापति, रुपन्देही–३ को उपनिर्वाचन लगायतमा छलफल गर्न सभापति देउवाले बैठक डाकेका थिए । दुई उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ र महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मालाई बैठकमा डाकिएको थियो ।
पार्टी स्रोतका अनुसार मुख्य सचिव कृष्णप्रसाद पौडेलले नेताहरुलाई फोन गरेर बैठक स्थगित भएको जानकारी गराएका थिए । अर्को बैठकका लागि सूचित भने गरिएको छैन ।
कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ ।
पद रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने बाध्यात्मक परिस्थिति रहेकाले आज जसरी भए पनि निर्वाचन गर्नुपर्ने हुन्छ । त्यसैले सभामुख देवराज घिमिरे कांग्रेसबाट आजै सभापतिको उम्मेदवारको नाम आउने प्रतीक्षामा छन्।
रुपन्देही–३ को विषयमा महामन्त्री शर्माले शीर्ष बैठकमा व्रिफिङ गर्ने बताइएको थियो । शर्मा क्षेत्रमा पार्टीको अवस्था बारेमा बुझ्न दुईपटक रुपन्देही–३ पुगेर फर्केका छन् । रुपन्देही–३ को उम्मेदवारको विषयमा कांग्रेसमा हालसम्म छलफल भएको छैन।
पार्टी विधान अनुसार केन्द्रले नाम सिफारिस गर्न परिपत्र गरेपछि क्षेत्रले एक महिला सहित तीन जनाको नाम केन्द्रमा सिफारिस गर्नुपर्दछ । कात्तिक १७ मा हुने उपानिर्वाचनका लागि आकांक्षीहरुको नाम पठाउन कांग्रेसले हालसम्म तल्लो तहलाई परिपत्र गरेको छैन ।