सर्लाही, ०९ भदाै । रौतहटमा सशस्त्र प्रहरीले आइतबार राति ठूलो परिमाणमा अवैध सुर्ती बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतको कमाण्ड र बीओपी औरैयाबाट सहायक प्रहरी निरीक्षक खेम राज जोशीको कमाण्डमा खटिएको टोलीले ३० बोरा सुर्ती बरामद गरेको हो ।
जिल्लाको इशनाथ नगरपालिका-४ मठियास्थित राम सिंह चनौको भट्टी पसलमा अवैध रूपमा सुर्ती भण्डारण गरी राखेको भन्ने सूचनाका आधारमा सशस्त्रको टोलीले खानतलासी तथा चेकजाँच गर्दा दसगजादेखि अन्दाजी २०० मिटर पूर्व तर्फ राम सिंह चनौको भट्टी पसलको छेउ चुमन मियाको धान खेतमा अवैध रूपमा भण्डारण गरी लुकाई छिपाई राखेको ३० बोराबाट ७ सय ४५ किलोग्राम सुर्ती बरामद भएको प्रहरी उपरीक्षक सन्तोष कुमार बस्नेतले जानकारी दिए ।
बरामद सुर्तीको मूल्य ३ लाख ६२ हजार ७५० रहेको तथा सुर्तिजन्य पदार्थहरू बरामद गरी गौर भन्सार कार्यालय रौतहटमा बुझाउने प्रक्रियामा रहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए ।