सर्लाही । सम्बन्धविच्छेदको खबरसँगै बलिउड अभिनेता गोविन्दा एकपटक फेरि चर्चामा आएका छन् । उनकी श्रीमती सुनिता आहुजाले बान्द्रा पारिवारिक अदालतमा सम्बन्धविच्छेदका लागि निवेदन दिएको र श्रीमानमाथि अन्य महिलासँग सम्बन्ध राखेको आरोप लगाएको भनिएको थियो ।
यही विवादबिच गोविन्दाका म्यानेजरले जोडीबिच सबै कुरा ठीकठाक भएको र दुवैले चाँडै बयान जारी गर्न सक्ने बताएका छन् । ‘सम्बन्धविच्छेदसँग सम्बन्धित जति पनि समाचारहरू बाहिर आउँदैछन्, ती सबै पुराना घटनाहरूमा आधारित छन् । गोविन्द–सुनीताबिच अहिले सबै ठीकठाक छ ।
यो पुरानो कुरा हो, जुन अहिले फैलिरहेको छ । मलाई निरन्तर फोन आइरहेको छ, तर अहिले जोडीबिच सबै ठीकठाक छ । उनीहरूको कुरा मिलिसकेको छ । चिन्ता लिनुपर्ने कुरा केही छैन, हामी चाँडै आधिकारिक बयान पनि जारी गर्ने छौँ ।’ समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा हालै गोविन्दाका प्रबन्धकले भनेका छन् । केही मानिसले यस्ता झूटा कथाहरू फैलाएर फाइदा उठाउन खोजिरहेको पनि ती मेनेजरको भनाइ छ ।
गोविन्दाका म्यानेजरभन्दा अगाडि उनका वकिल ललित बिन्द्राले पनि सम्बन्धविच्छेदको मुद्दा ताजा नभएको स्पष्ट पारेका थिए । ‘कुनै मुद्दा छैन, सबै कुरा मिलिरहेको छ । यी सबै मानिस पुराना कुराहरू उठाइरहेका छन् ।
गोविन्दा र सुनिताले परिवारसँग गणेश चतुर्थी मनाउनेछन् । सुनिता यसको तयारीमा व्यस्त छिन्,’ एनडीटीभीलाई दिएको एक अन्तर्वार्तामा उनले भनेका थिए ।
कसरी सुरु भयो सम्बन्धविच्छेदको खबर ?
गोविन्द–सुनीताको सम्बन्धविच्छेदको खबर अगस्ट २२ देखि हेडलाइनमा छ । हटरफ्लाइले एउटा समाचारमा सुनिताले गोविन्दमाथि व्यभिचार र क्रूरताको आरोप लगाउँदै अगल हुन निवेदन दिएको भनेर लेखेको थियो । तर गोविन्दाका नजिकका स्रोतहरूले यो समाचारलाई आधारहीन भनेको भन्दै दैनिक भास्करले समाचार छापेको छ ।
यसअघि गत वर्षको डिसेम्बरमा पनि गोविन्द–सुनीताको सम्बन्धविच्छेदको खबर फैलिएको थियो । डिसेम्बर ५ मा सुनिताले बान्द्रा पारिवारिक अदालतमा निवेदन दिएकी थिइन् । यद्यपि, केही समयपछि उनले आफैंले मिडियालाई दिएको अन्तर्वार्तामा आफू र गोविन्दालाई कसैले पनि अलग गर्न नसक्ने भनेकी थिइन् ।