Oplus_0

सर्लाही, ०९ भदाै । जनमत पार्टी नेतृत्वका मधेश प्रदेश सरकारले मधेशी सहिद प्रतिष्ठानमार्फत सहिद परिवारको निःशुल्क स्वास्थ्य बीमा थालेपछि हालसम्म १४० परिवार लाभान्वित भएका छन् ।

प्रतिष्ठानका अध्यक्ष इन्जिनियर शुभम् यादवका अनुसार मधेश आन्दोलन तथा माओवादीको सशस्त्र विद्रोहका क्रममा सहादत प्राप्त गरेका परिवारलाई प्रमाणका आधारमा स्वास्थ्य बीमा गरिएको हो ।

यसअघि पनि मधेश आन्दोलनका क्रममा सहादत दिएका परिवारका पाँच सदस्यसम्मको निःशुल्क स्वास्थ्य बीमा हुने व्यवस्था गरिएको थियो। बीमा भएपछि सहिद परिवारका सदस्यलाई उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।

यादवका अनुसार प्रदेशमा माओवादी विद्रोहका क्रममा राज्य र विद्रोही पक्ष दुबैबाट गरी १ हजार ६ जनाको मृत्यु भएको थियो । त्यस्तै मधेश आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका १६४ जनाको स्वास्थ्य बीमा गर्ने लक्ष्य समेत प्रतिष्ठानले लिएको छ ।

प्रदेश सरकारले २०८०/८१ आर्थिक वर्षदेखि सहिद प्रतिष्ठानमार्फत यो कार्यक्रम अगाडि बढाएको हो । सहिद परिवारका पाँच सदस्यसम्मको बीमाका लागि सरकार स्वयंले ३ हजार ५ सय रुपैयाँ एकमुष्ट रूपमा बीमा कम्पनीलाई बुझाउने व्यवस्था गरिएको छ । तर, परिवारमा पाँच जनाभन्दा बढी भएमा अतिरिक्त सदस्यको बीमा रकम परिवारले आफैं तिर्नुपर्ने उल्लेख छ ।

बीमाबाट उपचार सहज भएको उदाहरणसमेत देखिन थालेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा कम्प्युटर अपरेटरका रूपमा कार्यरत मिना पौडेलले स्वास्थ्य बीमाका कारण आँखाको उपचारमा सहजता पाएको अनुभव सुनाइन् । आर्थिक रूपमा कमजोर भएकी उनले बीमाका कारण ठूलो राहत पुगेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *