सर्लाही, १० भदाै । आज मिथिलामा मंगलबार चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदैछ। चौरचनमा राति चन्द्रमाको पूजा गरिन्छ । 

पर्वलाई मिथिलाञ्चलको गाउँबस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ। कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ ।
    
संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्य जमघट हुने र एकैसाथ विविध परिकार खाने चलन भएकाले आपसी सम्बन्ध बलियो बनाउने माध्यम भएको बताउँछन् । 

महिला आज दिनभर निराहार उपबास बसी राति चन्द्रमाको पूजाआजा गरेपछि अन्न र जल ग्रहण गर्नेछन् । पर्वमा विभिन्न फलफूल, मिठाइ, दही, पुरी र खीर खाने चलन रहेको जलेश्वर नगरपालिका- ८ का व्रतालु राजवतीदेवीले बताए ।

महिलाहरुले पूजा सकाएपछि घरका सबै सदस्यहरुले पालैपालो आँगनमा राखिएको विभिन्न फलफूल लिएर चन्द्रमाको दर्शन गर्छन् । चौरचनपर्व सम्पन्न भएपछि परिवारका सदस्य आँगनमै बसेर खीर, पुरी, दही, मिठाइ खान्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *