सर्लाही, १० भदाै । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने इच्छा व्यक्त गरेका छन् ।

अमेरिकी राष्ट्रपतिको सरकारी कार्यालय ओभल अफिसमा दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जाए म्युङ्गसँगको भेटवार्तामा ट्रम्पले उत्तर कोरियाली नेतासँग भेट्ने इच्छा देखाएका हुन् । आफ्नो पहिलो कार्यकालमा अमेरिका–उत्तर कोरियाबीच विफल भएको आणविक कूटनीति पुन: सुरु गर्न चाहेको बताउँदै ट्रम्पले किमसँग यसै वर्ष (सन् २०२५) भित्रै भेट्ने चाहेको बताएका गार्जिएनले उल्लेख गरेको छ ।

ओभल अफिसमा ट्रम्पले भने, ‘म किमसँग भेट गर्न चाहन्छु । उपयुक्त समयमा  किमसँग भेट्ने प्रतीक्षा गरिरहेको छु ।’

ट्रम्पले जनवरीमा अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालका लागि पदभार सम्हालेपछि पनि उत्तर कोरियाली सर्वोच्च नेता किमले प्रत्यक्ष वार्तामा रुचि देखाएका छैनन् ।

तर, ट्रम्प भने आफ्नो पहिलो कार्यकालमा सुरु गरिएको तर परिणामविहीन कूटनीतिक संवादलाई फेरि ब्यूँत्याउने प्रयासमा देखिन्छन् ।

ट्रम्प–किम सम्बन्ध

ट्रम्पले आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा किमसँग तीन पटक भेट गरेका थिए । किम जोन उनलाई उनकी बहिनी किम यो जोङ बाहेक आफूले मात्रै राम्रोसँग चिनेको ट्रम्पको दाबी छ । ‘कुनै दिन फेरि भेट हुन्छ । म प्रतीक्षारत छु । मसँग उनको राम्रो सम्बन्ध थियो,’ यसै वर्ष भेट हुनसक्ने बताउँदै ट्रम्पले पत्रकारहरूसँग भने ।

भेटमा हालसम्म असफल भए पनि ट्रम्पले युक्रेन र मध्यपूर्वमा जारी विवाद अन्त्य गरी दीर्घकालीन शान्ति कायम गर्न प्रयास गरिरहेको भन्दै दक्षिण कोरियाली राष्ट्रपति लीले प्रशंसा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *