सर्लाही, १० भदाै ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा राष्ट्रपति सी चिनफिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ताको समय तालिका मिलाउन पराष्ट्र मन्त्रालयले गृहकार्य सुरू गरेको छ ।

प्रधानमन्त्री ओलीले यही भदौ १४ गतेदेखि १८ गतेसम्म चीनको पाँच दिने भ्रमण गर्नुहुने तय भएको छ । चीनको तियाजिङमा हुने सांघाई सहयोग संगठन (एससीओ) सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीको चीनका राष्ट्रपति सी चीनफिङ र भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ताको कार्यसूचीका लागि परराष्ट्र मन्त्रालयले गृहकार्य थालेको हो । 

दुबै नेतासँग ओलीको भेटघाट हुने निश्चित प्राय: भए पनि समय र कार्यतालिका भने टुङ्गो भने लागिसकेको छैन । एससीओ सम्मेलनमा रहँदा प्रधानमन्त्री ओलीले चीन र भारतबाहेकका अन्य राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग पनि दुइपक्षीय र बहुपक्षीय भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

नेपालको सहमतिबिना नेपाली भूमि लिपुलेक हुँदै चीन र भारतले व्यापार मार्ग खोल्ने सम्झौता गरिरहेको बेला ती देशका सरकार प्रमुखहरूको जमघट हुने सम्मेलनमा प्रधानमन्त्री ओली सहभागी हुने भएकाले त्रिपक्षीय भेटवार्तालाई महत्वका साथ हेरिएको छ । 

उक्त भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले लिपुलेकको विषय उठाउने कि नउठाउने भन्नेबारेमा पनि सरकार छलफलमै छ । लिपुलेकमार्फत् सीमापार व्यापार खोल्ने दुई देशबीचको सहमतिको विरोधमा नेपाल सरकारले कूटनीतिक नोट पठाएकोमा दुबै देशले त्यसको जवाफ दिएका छैनन् । 

जसका कारण यो मुद्दा उठाउने या नउठाउने भन्ने विषयमा परराष्ट्रका अधिकारीहरू अन्योलमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *