सर्लाही, १० भदाै । मधेश प्रदेशको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवाल आर्थिक अनियमिततामा मुछिएका छन् ।
आर्थिक अनियमिततामा मुछिएको र उनको कार्यशैलीमाथि गुनासो तथा लिखित उजुरी नै आएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन अघि बढाएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमा चर्तुवेदीले एसपी सिलवामाथि छानबिनका लागि समिति गठन गरिएको पुष्टि गरे ।
‘छानबिन समिति गठन गरेर अनुसन्धान अघि बढाएका छौं । अहिले छानबिनकै क्रममा रहेकाले थप बताउने अवस्था छैन’ डीआईजी चर्तुवेदीले भने ।
स्रोतका अनुसार एसपी सिलवालविरुद्ध ३५ वटा लिखित उजुरी परेको छ । ती ३५ उजुरी पाँच किसिमका रहेकाले छुट्टा छुट्टै अनुसन्धान गर्न पाँच वटा समिति बनाइएको छ । एसएसपी कमल थापा, एसएसपी भीम दाहाललगायतको पाँच जनाको नेतृत्वमा छुट्टा–छुट्टै पाँच समिति बनाइएको छ ।
एसपी थापालाई लागेको आरोपको लिखित जवाफ पेश गर्न भन्दै समय समेत तोकिएको बताइएको छ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेलाई जरिवाना गरेर छाड्नु पर्नेमा रातभर नियन्त्रणमा राखेको, चालकहरुसँग रकम असुली गरेको लगायत आरोप छ ।
मापसे नगरेको अर्को चालकलाई गाडी चलाउन दिएर जरिवानाको चिट काटि छाड्न भन्दा समेत नछाडि रातभर नियन्त्रणमा राखेको आरोप एसपी सिलवालमाथि छ ।
यसबारे प्रदेश कार्यालयले मापसे सेवन नगरेको चालकलाई गाडी जिम्मा लगाएर चिट काटेर छाड्न निर्देशन दिँदा समेत एसपी सिलवालले नछाडेको बताइएको छ ।
चोरीको सवारी नियन्त्रणमा लिएर भन्सारमा बुझाउनु पर्नेमा भन्सारमा नबुझाई आफूखुसी प्रयोग गरेको आरोपमा पनि सिलवालमाथि छानबिन अघि बढाइएको छ । सामान्यतया चोरीको गाडी नियन्त्रणमा लिने र अनुसन्धान गर्ने काम ट्राफिकको कार्यक्षेत्रभन्दा बाहिर भए पनि सिलवालले भने चोरीका गाडी नियन्त्रणमा लिएर भन्सार बुझाउनुको साटो आफूखुसी प्रयोग गरेको गरेको उजुरी परेको थियो ।
त्यसैगरी सुनौलो बिहानी ट्रान्सपोर्टका दुई ट्रकलाई पथलैया चेकपोष्टबाट नियन्त्रणमा लिएर ८ लाख रुपैयाँ असुलेर छाडेको भन्दै उजुरी परेको थियो । यो घटना गत ११ साउनको रहेको बताइएको छ ।