काठमाण्डाैं, १० भदाै । रूसी कच्चा तेल किनेकोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई २५ प्रतिशत भन्सार शुल्क लगाउने भनेका छन् । तर रूसी तेल किनेकोमा सबैभन्दा धेरै फाइदा भने भारतीय व्यापारी मुकेश अम्बानीलाई भएको छ ।

ट्रम्पले जुलाईको अन्त्यमा भारतबाट आयात हुने सबै सामानमा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका थिए । त्यसपछि भारतले अझै रूसी कच्चा तेल किनिरहे अगस्टको अन्त्यदेखि लागू हुने गरी भारतबाट आयात हुने सबै सामानमा थप २५ प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका थिए ।

यसरी रूसी तेल किनेको रिसमा ट्रम्पले लगाउने थप भन्सार महसुलले भारतको सम्पूर्ण निर्यात क्षेत्रलाई घाटा हुनेछ। तर रूसी तेल किनेकोमा फाइदा भने मुख्यतः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग निकट मानिने अम्बानीलाई भएको देखिएको छ।

सन् २०२२ फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि अमेरिका लगायत पश्चिमा देशले रूसी तेलमा प्रतिबन्ध लगाएका छन्। तर भारतले भने सस्तोमा रूसी तेल किनिरहेको छ। त्यो भन्दा अघि नगण्य मात्रामा रूसी तेल किन्ने भारत त्यसपछिका दिनमा भने रूसको मुख्य ग्राहक बनेको छ।

यसरी सस्तोमा रूसी तेल किनेको सबैभन्दा धेरै फाइदा भने अम्बानीको रिलायन्स इण्डस्ट्रिज र अर्को एक निजी कम्पनीलाई भएको भनेर भारतीय पत्रिका द बिजनेस स्टयान्डर्डले लेखेको छ।

रूसी तेल बोक्ने जहाजको तथ्यांक र सरकारी स्रोतहरूको हवाला दिँदै द बिजनेस स्टयान्डर्डले लेखेको सो समाचार अनुसार सरकारी र निजी गरी कूल सात भारतीय प्रशोधन कम्पनीले रूसी कच्चा तेल किनेको देखिएको छ। तर रिलायन्स र नायरा एनर्जी कम्पनीले मात्रै भारतले किनेको रूसी तेलको करिब ४० प्रतिशत हिस्सा ओगटेका छन्।

रूसी लगानी रहेको नायरा एनर्जीमा रूसको सरकारी तेल कम्पनी रसनेफ्टको झण्डै ५० प्रतिशत शेयर छ।

द बिजनेस स्टयान्डर्डका अनुसार रूसी तेल किन्ने अरू भारतीय कम्पनी मुख्यतः सरकारी कम्पनी छन्। अनि तिनले प्रशोधन गरेको रूसी तेल घरेलु खपतमा प्रयोग हुन्छ। तर अम्बानीको रिलायन्स र नायराले भने बढी फाइदा लिएर अरू देशलाई बेच्छन्।

भारत पेट्रोलियम पदार्थको खुद आयातकर्ता भए पनि रूसी तेल किनेर अहिले निर्यात गरिरहेको छ। द बिजनेस स्टयान्डर्डका अनुसार भारतको तेल निर्यातमा रिलायन्सको हिस्सा ७१ प्रतिशत छ। तर रिलायन्सलाई त्यसबाट कति मुनाफा भएको भनेर चाहिँ खुलाएन।

भारतको भन्दा चीनले अझै धेरै रूसी तेल किने पनि ट्रम्पले सजाय भने भारतलाई मात्रै दिएका छन्। चीन तुलनात्मक रूपमा भारतभन्दा शक्तिशाली भएकाले उनले भारतलाई मात्रै निशाना लगाएका हुनसक्छन्।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले हालै भारतीय सरकार निकटका तेल व्यापारीले रूसी तेल किनेर १६ अर्ब डलरको मुनाफा कमाएको दाबी गरे। उनले अम्बानी वा कुनै व्यापारीको नाम लिएनन् र कसरी त्यो हिसाब निकालेको भनेर पनि खुलाएनन्।

त्यस्तै ट्रम्पका व्यापार विज्ञ पिटर नाभारोले पनि भर्खरै फाइनान्सियल टाइम्समा भारतले रूसी तेल किनेकोबारे एक लेख लेखेका थिए। सो लेखमा उनले भारत र चीन दुवैले लगभग उस्तै मात्रामा रूसी तेल किने पनि त्यसमा भिन्नता रहेको बताए।

चीनले २०२२ अघि पनि रूसी तेल किनेको र अहिले किनिरहेको रूसी तेल पनि खपतका लागि प्रयोग गर्ने भनेको थियो। तर भारतले भने पहिले रूसी तेल किन्ने नगरेको औंल्याएको छ।

अहिले पनि भारतले किनेको लगभग सबै रूसी तेल प्रशोधन गरेर अरू देशलाई बेच्ने दाबी गरिएको छ। भारतीय सरकार निकटका तेल व्यापारीले रूसी तेल किनेर फाइदा कमाएको बेसेन्टको आरोप पनि दोहोर्‍याए।

भारतले भने अमेरिका लगायत पश्चिमा देशको सल्लाहमै रूसी तेल किनिरहेको दाबी गर्दै आइरहेको छ। रूसी तेलले बजार नपाए तेलको भाउ बढ्ने भएकाले पश्चिमा देशको सल्लाहमै किनेको जिकिर गर्छ।

अघिल्ला अमेरिकी राष्ट्रपति जो बाइडेनको पालामा रूसी तेलमा पूर्ण प्रतिबन्ध लगाउन छाडेर अमेरिका लगायत पश्चिमा राष्ट्रले ६० डलर प्रति ब्यारेलभन्दा कममा किन्ने भनेर उर्दी लगाएका थिए। त्यसो गर्दा तेलको भाउ नबढ्ने र रूसले तेलबाट पाउने आम्दानी पनि घट्न भएकाले अमेरिकाले सो नीति अँगालेको थियो।

पछिल्ला दिनमा तेलको भाउ घटेकाले भारतले रूसबाट ६० डलर प्रति ब्यारेलभन्दा कम मूल्यमै किनिरहेको मानिन्छ। त्यस अर्थमा भारतले अमेरिकाले लगाएको नियमको पालना गरिरहेको छ। र, यो मामिलामा अमेरिकाले अहिले आलोचना गर्नु जायज देखिँदैन।

तर भारतले रूसी तेल सस्तोमा किनेर भारतीय सरकारसँग निकट रहेका व्यापारीले फाइदा कमाइरहेको भन्ने आरोप भने पुष्टि हुन्छ। रूसी तेल किनेर भारतलाई विगत तीन वर्षमा १६ अर्ब डलरको फाइदा भएको भनेर विभिन्न विज्ञको हवाला दिँदै फाइनान्सियल टाइम्सले केही हप्ताअघि लेखेको थियो। त्यसमध्ये झण्डै छ अर्ब डलर मुनाफा अम्बानीको रिलायन्स कम्पनीले कमाएको फाइनान्सियल टाइम्सले जनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *