सर्लाही, ११ भदाै । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह चारदिने मलेसिया भ्रमण सकेर मंगलबार साँझ स्वदेश फर्किएका छन् ।
मुख्यमन्त्री सिंह भदौ ६ गते मलेसिया प्रस्थान गरेका थिए । वैदेशिक रोजगारीका लागि पुगेका नेपाली, विशेष गरी मधेस प्रदेशका श्रमिकहरूको अवस्था प्रत्यक्ष बुझ्ने उद्देश्यले उनले भ्रमण गरेका थिए ।
भ्रमणका क्रममा सिंहले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट गर्दै श्रमिकहरूको समस्या, अधिकार र चुनौतीबारे छलफल गरेका थिए। उनले कामदारलाई आवश्यक सहयोग गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै श्रमिकहरूको आवाजलाई भविष्यमा नीतिगत रूपमा सम्बोधन गर्ने आश्वासन दिए ।
मलेसिया बसाइका क्रममा उनले विभिन्न औपचारिक कार्यक्रममा समेत सहभागिता जनाएका थिए। ती कार्यक्रममा नेपाल–मलेसिया श्रम सम्बन्ध, सुरक्षित वैदेशिक रोजगारी र कामदारको हितबारे छलफल भएको उनको सचिवालयले जनाएको छ ।
सिंहको अनुपस्थितिमा प्रदेश सरकार सञ्चालनका लागि भौतिक पूर्वाधार विकास मन्त्री सारोजकुमार यादव कार्यवाहक मुख्यमन्त्री तोकिएका थिए । यसबीचमा प्रदेश सरकारले हैजा नियन्त्रणलगायत स्वास्थ्य क्षेत्रमा चुनौती समाधान गर्ने तयारीलाई निरन्तरता दिएको सचिवालयले जनाएको छ ।
चारदिने भ्रमणपछि फर्किएका मुख्यमन्त्री सिंहले प्राप्त अनुभव र सुझावलाई प्रदेश सरकारका नीति तथा कार्यक्रम निर्माणमा उपयोग गर्ने तयारी गरेको पनि सचिवालयको भनाइ छ ।
सिंहलाई मलेसियाबाट विदाइ गर्न गैरआवासीय मधेशी संघ मलेसियाका अध्यक्ष महेश्वर यादव ‘निराला’ सहितका पदाधिकारीले मधेशको पहिचान झल्काउने गम्छा लगाइदिएका थिए । यादवले मुख्यमन्त्रीसँग बिताएका दिन सधैं स्मरण रहने उल्लेख गर्दै उनको भिजनले मधेसमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।