सर्लाही, ११ भदाै । सरकारी अनुदान कटौतीको विरोधमा उखु किसानले काठमाडौंमा आन्दोलनलाई थप सशक्त बनाएका छन् । आइतबार माइतीघर मण्डलामा भेला भएर सुरु गरिएको आन्दोलन सोमबार नयाँ बानेश्वरसम्म र्यालीमार्फत विस्तार गरिएको हो ।
उखु उत्पादक महासंघका संयोजक श्यामबाबु रायले सरकारले लामो समयदेखि दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान कटौती गरेको निर्णयप्रति किसान आक्रोशित भएको बताए । उनले भने, “हामी अधिकारका लागि सडकमा उत्रिएका हौँ, सरकारको लापरबाही अब स्वीकार्य छैन ।”
माइतीघर–नयाँ बानेश्वर रुटमा किसानले ‘भिख होइन, अधिकार चाहिन्छ’, ‘उखु कृषकको शोषण बन्द गर’, ‘विगतको अनुदान अविलम्ब भुक्तान गर’ जस्ता नारा लगाएका थिए ।
महासंघका अनुसार मोरङ, सुनसरी, सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी र कञ्चनपुरका करिब ६ सय किसान काठमाडौंमा भेला भएका छन् । उनीहरूले १५ भदौभित्र माग सम्बोधन नगरे अझ कठोर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
सर्लाहीका किसान संघर्ष समिति अध्यक्ष रामस्वार्थ रायले पटक–पटक आन्दोलन नगरी श्रमिकको अधिकार नपाइने बाध्यता भएको गुनासो गरे । “अहिले पनि सरकारले अनुदान खोस्न खोजेकाले आन्दोलनलाई निरन्तरता दिन बाध्य भएका छौँ,” उनले चेतावनी दिए ।
पाँच वर्षअघि उद्योगीविरुद्ध आन्दोलन
०७७ मंसिरमा किसानले उद्योगीबाट ९० करोड रुपैयाँ बक्यौता पाउन काठमाडौंमै आन्दोलन गरेका थिए । सरकारको समन्वयमा त्यसबेला रकम असुल भएको थियो । अहिले भने उद्योगीले बक्यौता नदिएको नभई सरकारले नै अनुदान कटौती गर्न खोजेकाले फेरि आन्दोलन गर्नु परेको किसानको भनाइ छ ।
सर्लाहीको गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले, “उखु उत्पादन बढाएर चिनीमा आत्मनिर्भर हुने अवस्थामा सरकार उल्टै अनुदान कटौती गर्न लागिरहेको छ, बरु थपिनुपर्छ,” भन्दै तत्कालै प्रतिक्विन्टल ३५ रुपैयाँका दरले भए पनि रकम निकासा गर्न आग्रह गरे ।
कृषिमन्त्रीसँग भेट
आन्दोलनरत किसान प्रतिनिधिहरूले सोमबार बिहान सिंहदरबारमा कृषिमन्त्री रामनाथ अधिकारीसँग भेट गरेका थिए । मन्त्री अधिकारीले किसानको पक्षमा वकालत गरिरहेको र मन्त्रिपरिषद्बाट समाधान निकाल्ने पहल भइरहेको बताएका संयोजक रायले जानकारी दिए ।